काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
निजी क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ। त्यसैगरी, विकास बैंकहरूको कर्जा ०.३ प्रतिशतले घटेको छ।
साउन मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो।
२०८३ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाह भएको कर्जाको हिस्सा १५.३ प्रतिशत रहेको छ।
त्यस्तै, घरजग्गा धितो सुरक्षणमा प्रवाह भएको कर्जाको हिस्सा ६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको साउन मसान्तमा यी कर्जाको हिस्सा क्रमशः १४.८ प्रतिशत र ६४.४ प्रतिशत थियो।
साउनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये विभिन्न क्षेत्रमा कर्जाको अवस्था फरक–फरक देखिएको छ।
कर्जा प्रवाह बढेका क्षेत्रहरूमा खनिज क्षेत्र ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत ३ प्रतिशत, निर्माण २.१ प्रतिशत, सेवा उद्योग १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापार ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्र ०.३ प्रतिशत रहेका छन्।
त्यसैगरी, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा प्रवाह ५.१ प्रतिशत, कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले घटेको छ।
साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ। त्यस्तै, ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ।
यता विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत तथा माग र अन्य चालू पुँजी कर्जा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।