काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा विस्तारलाई निरन्तरता दिँदै ओखलढुङ्गामा आफ्नो ८५औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा कार्यालयको एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले शाखा कार्यालयको उद्घाटन गरेका थिए। कार्यक्रममा सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोद ताम्राकार, एनएलजी इन्स्योरेन्सका ब्रान्च कोअर्डिनेटर खड्ग श्रेष्ठ, कोशी प्रदेश प्रमुख सुभाष दाहाललगायत स्थानीय उद्योगी, व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो।
ओखलढुङ्गामा शाखा सञ्चालनमा आएसँगै जिल्लाका नागरिक, उद्योगी–व्यवसायी तथा अन्य सेवाग्राहीले स्थानीयस्तरमै बीमा सेवा र परामर्श प्राप्त गर्न सक्ने भएका छन्। कम्पनीले गुणस्तरीय, सहज र भरपर्दो बीमा सेवा स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले शाखा स्थापना गरिएको जनाएको छ।
स्थानीय नागरिक तथा व्यवसायले सामना गर्न सक्ने विभिन्न जोखिमको व्यवस्थापनमा बीमाको पहुँच विस्तार गर्दै योगदान पुर्याउने कम्पनीको लक्ष्य रहेको छ। शाखा उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले जिल्लामा बीमा सेवाको पहुँच विस्तारले स्थानीय व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका थिए।
एनएलजी इन्स्योरेन्सले देशका विभिन्न जिल्लामा शाखा तथा उपशाखा विस्तार गर्दै बीमाको पहुँच स्थानीय तहसम्म पुर्याउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। ओखलढुङ्गा शाखा कम्पनीको शाखा विस्तार अभियानअन्तर्गत सञ्चालनमा आएको ८५औँ शाखा हो।