free website hit counter

जीवन बीमकले साउनमा साढे ५ अर्ब दाबी भुक्तानी गरे

beemaadmin
२०८३ आश्विन ७, बुधबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले साढे ५ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमकहरूले साउनमा २८ हजार १२१ वटा दाबीबापत ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा जीवन बीमा कम्पनीहरूले २८ हजार ५९ वटा दाबीबापत ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा भुक्तानी भएका दाबीको संख्या ०.२२ प्रतिशतले बढेको छ भने भुक्तानी रकम ७.३६ प्रतिशतले वृद्धि भएको छ।

तर, जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी भने उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनसम्म १ लाख २५ हजार ६३० वटा दाबी भुक्तानी हुन बाँकी छन्। ती दाबीबापत कम्पनीहरूले १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

गत आर्थिक वर्षको साउनसम्म जीवन बीमकहरूले ५७ हजार ६०३ वटा दाबीबापत ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो।

यस आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनसम्म जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबीको संख्या ११८.१० प्रतिशतले बढेको छ। त्यस्तै, भुक्तानी हुन बाँकी रकम १२०.५६ प्रतिशतले बढेको छ।

अर्थात् जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनामा दाबी भुक्तानी बढाए पनि भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम भने गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ।

सम्बन्धित समाचार