काठमाडौं । फ्लाई दुबईको विमानमा सह-पाइलटको आक्रमणबाट गम्भीर घाइते हुँदासमेत विमान दुर्घटना हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई इजरायलले आफ्नो सर्वोच्च नागरिक वीरता पुरस्कार प्रदान गर्ने भएको छ।
इजरायली राष्ट्रपति इसाक हर्जोगले मच्छरको साहस र व्यावसायिक दक्षताले ठूलो दुर्घटना टारेको भन्दै उनी स्वास्थ्यलाभ भएपछि ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइजम’ प्रदान गरिने घोषणा गरेका हुन्।
गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको उडान नम्बर एफजेड १०७३ मा सह-पाइलटले क्याप्टेन मच्छरमाथि ककपिटभित्रै आक्रमण गरेका थिए। आक्रमणका क्रममा मच्छर गम्भीर घाइते भएका थिए भने विमान तीव्र गतिमा तल झरेपछि यात्रु र चालक दलका सदस्यको ज्यान जोखिममा परेको थियो।
गम्भीर घाइते हुँदासमेत मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि विमानमा रहेका यात्रु र चालक दलका सदस्यले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। विमानमा रहेका अन्य दुई पाइलटले नियन्त्रण सम्हालेपछि साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो। घटनामा विमानमा सवार १७४ जनाको ज्यान जोगिएको थियो।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले क्याप्टेन मच्छरको बहादुरीको प्रशंसा गरेका थिए। नेतन्याहुले मच्छरसँग फोनमा कुराकानी गर्दै घटनाबारे जानकारीसमेत लिएका थिए।
कुराकानीका क्रममा मच्छरले सुरुमा उडान सामान्य रहेको बताएका थिए। उनका अनुसार सह-पाइलटले प्रार्थना गर्ने इच्छा व्यक्त गरेका थिए। त्यसलाई उनले असामान्य मानेका थिएनन्।
तर सह-पाइलटले प्रार्थना गर्न थालेको केही मिनेटपछि आफूले टाउकोको पछिल्लो भागमा शक्तिशाली प्रहार महसुस गरेको मच्छरले बताएका थिए।
उनका अनुसार सुरुमा विमानमै केही समस्या आएको हो कि भन्ने लागेको थियो। तर लगातार प्रहार हुन थालेपछि ककपिटभित्रै रहेका सह-पाइलटले आक्रमण गरिरहेको उनले थाहा पाए।
‘मैले उसलाई रोक्न खोजेँ, तर सुरुको प्रहारबाटै मेरो दृष्टि धमिलो भइसकेको थियो,’ मच्छरले घटनाबारे सुनाउँदै भनेका थिए।
त्यसै क्रममा विमान तीव्र गतिमा तल झर्न थालेपछि आफूलाई विमान दुर्घटनामा पर्न सक्ने महसुस भएको उनले बताएका थिए। घाइते अवस्थामा रहेका कारण घटनाका सबै विवरण स्पष्ट रूपमा सम्झन नसकेको पनि उनले उल्लेख गरेका थिए।
आक्रमणपछि मच्छरले ककपिटको ढोका खोल्ने प्रयास गरेका थिए। तर चोटका कारण उनी निकै कमजोर भइसकेका थिए। विमानभित्रको आवाज, तीव्र हावा र यात्रुहरूको चिच्याहटबीच उनले अन्तिम प्रयास गर्ने निर्णय लिएको बताएका थिए।
‘मसँग अन्तिम प्रयास गर्ने शक्ति बाँकी थियो। मैले त्यसबेला आफ्नो पूरै शक्ति लगाएँ, ढोकासम्म पुगेँ र खोलेँ,’ उनले नेतन्याहुसँगको कुराकानीमा भनेका थिए।
मच्छरका अनुसार बाहिर रहेका सहकर्मीहरूले कोड प्रयोग गरेर ककपिटको ढोका खोल्ने प्रयास गरेका थिए। तर सह-पाइलटले त्यसमा अवरोध पुर्याइरहेका थिए। त्यसैले ढोकासम्म पुगेर ह्यान्डल घुमाउनु नै खोल्ने एकमात्र उपाय बनेको उनले बताएका थिए।
ढोका खुलेपछि यात्रु र चालक दलका सदस्यले हस्तक्षेप गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए। त्यसपछि अन्य पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए र साउदी अरबमा सुरक्षित अवतरण गराएका थिए।
मच्छरको साहसको प्रशंसा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले उनले धेरैको जीवन बचाउनुका साथै संकटको सामना गर्ने मानवीय साहसप्रतिको विश्वाससमेत जोगाएको बताएका थिए।
नेतन्याहुले मच्छरलाई भारत र इजरायलका साथै विश्वकै नायकका रूपमा चित्रण गरेका थिए। उनले मच्छर र भारतीय प्रधानमन्त्री मोदीलाई इजरायलको स्वतन्त्रता दिवसको विशेष समारोहमा सहभागी हुन तथा प्रतीकात्मक रूपमा ज्योति प्रज्वलन गर्न निमन्त्रणा दिने बताएका थिए। कुराकानीका क्रममा मच्छरले घटनाका बेला आफूलाई सहयोग गर्ने एक दन्त चिकित्सकलाई भेट्न चाहेको पनि बताएका थिए। ती चिकित्सकले आफ्नो जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
फ्लाई दुबईको उक्त उडानमा भएको घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। सह-पाइलटले आक्रमण गर्नुको कारण र विमान दुर्घटना गराउने प्रयाससम्बन्धी विभिन्न पक्षको अनुसन्धान भइरहेको छ। क्याप्टेन मच्छरलाई प्रदान गरिने सम्मानले संकटको घडीमा देखाएको उनको साहस र व्यावसायिक दक्षताको कदर गर्ने इजरायलले जनाएको छ।