काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा महाधिवेशनबाट अध्यक्षमा चयन भएका हुन्। बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरु भएको महाधिवेशनअन्तर्गत शुक्रबार निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो।
अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्। त्यस्तै, महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्ष पदमा भने १३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, नवीन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्ल रहेका छन्।
प्रतिष्ठानका अन्य पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ।