free website hit counter

जनकपुर बोल्ट्सका खेलाडीको बीमा गर्ने आईजीआई प्रुडेन्सियलको सम्झौता

beemaadmin
२०८३ आश्विन २३, शुक्रबार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सबीच खेलाडीको वित्तीय सुरक्षा तथा क्रिकेटको विकास र विस्तारका लागि सम्झौता भएको छ।

सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूको खेल अवधिमा आवश्यक बीमा गरिनेछ। साथै, क्लब र त्यससँग आबद्ध व्यक्तिहरूको बीमासम्बन्धी सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने सहमति भएको छ।

सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरेका छन्।

सम्झौताबाट खेलाडीको सुरक्षा सुनिश्चित गर्नुका साथै क्रिकेटको विकास र दुवै संस्थाबीचको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ। सहकार्यअन्तर्गत दुवै संस्थाले आ–आफ्नो विशेषज्ञता, पहुँच र स्रोतको उपयोग गर्दै पारस्परिक हितका विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।

सम्झौताका अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले क्रिकेट, भलिबल, फुटबल तथा फुटसललगायत विभिन्न खेलकुद गतिविधिमा सहभागिता जनाउँदै आएको बताए। आगामी दिनमा पनि खेलकुद क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिने उनको भनाइ थियो।

जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै श्रेष्ठले यसबाट खेलाडीको मनोबल उच्च राख्न तथा नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरे। क्रिकेट आफ्नो व्यक्तिगत रुचिको विषयसमेत रहेको बताउँदै उनले दुवै संस्थाबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

त्यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले खेलाडीको विकास र क्रिकेटको प्रवर्द्धनमा सहयोग गरेकोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरे।

उनले यो सहकार्यले खेलाडीको मनोबल बढाउनुका साथै क्लबको दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गर्दै आएको प्रगतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको दुवै संस्थाले जनाएका छन्।

सम्बन्धित समाचार