free website hit counter

अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

beemaadmin
२०८३ आश्विन २९, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर जोन’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। बीमासम्बन्धी सेवा सहज, सुरक्षित र छिटो बनाउने उद्देश्यले कम्पनीले उक्त पोर्टल सुरु गरेको हो।

कम्पनीका अनुसार कस्टमर जोनमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्नुका साथै बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न र कम्पनीमा दर्ता भएका बीमा दाबीको अवस्था अनलाइनबाटै हेर्न सक्नेछन्।

Advertisement
Advertisement

डिजिटल प्रविधिको प्रयोग बढाउँदै ग्राहकलाई आफ्ना बीमासम्बन्धी विवरणमा सहज पहुँच उपलब्ध गराउने तथा सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने लक्ष्यसहित पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

कसरी अद्यावधिक गर्ने केवाईसी विवरण?

ग्राहकले सूर्यज्योति लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइटमा गएर ‘कस्टमर जोन’ विकल्पमा क्लिक गरी केवाईसी अद्यावधिक प्रक्रिया सुरु गर्न सक्नेछन्। त्यसपछि कम्पनीमा दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगानामार्फत लगइन गर्न सकिनेछ।

पहिलोपटक लगइन गर्ने ग्राहकले दर्ता गरिएको मोबाइल नम्बर वा इमेल प्रयोग गरेर पासवर्ड सेट गर्न सक्नेछन्। कम्पनीले उपलब्ध गराएको व्यवस्थाअनुसार एकपटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) मार्फत पनि लगइन गर्न सकिनेछ।

लगइन गरेपछि ‘केवाईसी विवरण’ खण्डमा गएर कम्पनीको प्रणालीमा रहेको आफ्नो व्यक्तिगत विवरण जाँच गर्न र आवश्यक विवरण अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक राख्दा बीमासम्बन्धी सेवा तथा ग्राहकका आवश्यक प्रक्रिया सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

समस्या परे कसरी सम्पर्क गर्ने?

कस्टमर जोन प्रयोग गर्दा वा केवाईसी विवरण अद्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा ग्राहकले इमेल, ह्वाट्सएप, फेसबुक तथा ल्यान्डलाइनमार्फत कम्पनीसँग सम्पर्क गर्न सक्नेछन्। आवश्यक जानकारीका लागि नजिकको शाखा कार्यालय वा कम्पनीको केन्द्रीय कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।

कम्पनीले कस्टमर जोनलाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। आगामी दिनमा यस प्लेटफर्ममा उपलब्ध सेवाहरू थप विस्तार गर्दै बीमासम्बन्धी जानकारी प्राप्त गर्ने र सेवा लिने प्रक्रियालाई अझ सरल, छिटो तथा प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार