काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्म ३९ वटा उजुरी फर्छ्यौट गरेको छ। प्राधिकरणले फैसला र आपसी सहमतिका माध्यमबाट ती उजुरी फर्छ्यौट गरेको हो।
प्राधिकरणका अनुसार फर्छ्यौट भएका उजुरीमध्ये ३२ वटा फैसलामार्फत र ७ वटा सहमतिमार्फत टुंग्याइएको छ।
चालु आर्थिक वर्षको भदौसम्म प्राधिकरणमा कुल ३४२ वटा उजुरी परेका छन्। तीमध्ये ३१९ वटा उजुरी गत आर्थिक वर्ष २०८२/८३ बाट जिम्मेवारी सरेर आएका हुन्।
चालु आर्थिक वर्षको भदौसम्म भने प्राधिकरणको केन्द्रीय कार्यालयमा २१ वटा र प्रदेश कार्यालयमा २ वटा गरी २३ वटा नयाँ उजुरी दर्ता भएका छन्।
कुल ३४२ उजुरीमध्ये ३९ वटा फर्छ्यौट भइसकेका छन् भने अझै ३०३ वटा उजुरी टुंगिन बाँकी छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल बीमा प्राधिकरणमा कुल ६०० वटा उजुरी परेका थिए। तीमध्ये २८१ वटा उजुरी मात्रै फर्छ्यौट भएका थिए।
यसअनुसार गत आर्थिक वर्षमा प्राधिकरणको उजुरी फर्छ्यौट दर करिब ४७ प्रतिशत रहेको देखिन्छ।