काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।
सेबोनको स्वीकृतिसँगै बैंकले विद्यमान शेयरधनीलाई १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने बाटो खुलेको छ। अर्थात् हाल कायम प्रत्येक दुई कित्ता शेयर बराबर शेयरधनीले एक कित्ता नयाँ शेयर खरिद गर्न पाउनेछन्।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।
बोर्डको सञ्चालक समितिबाट निर्णय पारित भइसकेको भए पनि यससम्बन्धी औपचारिक पत्र जारी हुने प्रक्रियामा रहेको छ। नियामक निकायबाट औपचारिक पत्र प्राप्त भएपछि बैंकले शेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ।
हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी तथा पूँजीगत आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।