free website hit counter

पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेश भट्टद्वारा स्वीकार

beemaadmin
२०८३ कार्तिक २१, शुक्रबार

काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन्।

अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेको, शरीरका विभिन्न भाग काटेको र अवशेष फोहोरमा फालेको खुलासा गरेका हुन्।

Advertisement
Advertisement

उनका अनुसार जुलाई ३०, २०२४ मा बेडरुममा ममतालाई अचेत अवस्थामा फेला पारेका थिए। उनले सीपीआर दिने प्रयास गरे पनि तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगरेको स्वीकार गरे। आफूलाई दोषी ठहर गरिने डरले शव लुकाउने निर्णय गरेको उनको भनाइ छ।

Advertisement
Advertisement

भट्टले शवका खुट्टा काट्ने प्रयास गरेको र त्यसका लागि ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरा प्रयोग गरेको स्वीकार गरेका छन्। शवका अवशेष तीनवटा फोहोरका झोलामा राखेर घरको ग्यारेजमा रहेको फोहोरमा फालेको उनले बताए।

अभियोजन पक्षले घरेलु हिंसा, गुगल सर्च हिस्ट्री र प्रमाण नष्ट गरेको विषयमा समेत प्रश्न उठाएको थियो। भट्टले भने आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे।

ममताको शव अहिलेसम्म फेला परेको छैन। भट्टमाथि हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ।

सम्बन्धित समाचार