काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्न बाँकी रहेको दाबी रकममध्ये १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी निकासा गरेको छ।
बोर्डको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा प्राप्त दाबीहरूको आवश्यक जाँच तथा रुजु गरी बाँकी रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो।
बोर्डका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा प्राप्त दाबी रकमबाट सहभुक्तानी, रुजुका क्रममा अस्वीकृत रकम, पेश्की बाँकी रहेका स्वास्थ्य संस्था, बैंक खाता नम्बर उपलब्ध नगराएका तथा रोक्का रहेका संस्थाहरूको रकम कट्टा गरिएको छ। यसरी कट्टा गरेपछि कुल १ अर्ब १८ करोड २८ लाख २३ हजार २०५ रुपैयाँ ८१ पैसा भुक्तानी गरिएको बोर्डले जनाएको छ।
चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट यसअघि विभिन्न चरणमा भुक्तानी भइसकेको र बाँकी रहेको रकमबाट पछिल्लो भुक्तानी निकासा गरिएको हो।
बोर्डको यसअघिको बैठकले गरेको निर्णयअनुसार दाबी भुक्तानीका लागि स्वीकृत कुल रकमको २ प्रतिशत कट्टा गर्ने व्यवस्था पनि लागू गरिएको छ। सोही व्यवस्थाबमोजिम आवश्यक रकम कट्टा गरेर भुक्तानी प्रक्रिया अघि बढाइएको बोर्डले स्पष्ट पारेको छ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी रकम भरतपुर अस्पतालले प्राप्त गरेको छ। अस्पतालले ५ करोड ९० लाख रुपैयाँ सोधभर्ना पाएको छ। त्यस्तै, वीर अस्पतालले ३ करोड ४६ लाख रुपैयाँ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ३ करोड ३९ लाख रुपैयाँ प्राप्त गरेका छन्।
यसैगरी भक्तपुर क्यान्सर अस्पतालले २ करोड ३३ लाख रुपैयाँ, दमक अस्पतालले २ करोड १६ लाख रुपैयाँ, प्रादेशिक अस्पताल भद्रपुरले १ करोड ८३ लाख रुपैयाँ र भेरी अस्पतालले १ करोड ६० लाख रुपैयाँ सोधभर्ना पाएका छन्।
त्यस्तै, सेती प्रादेशिक अस्पताल र कलेज अफ मेडिकल साइन्सेज–टिचिङ हस्पिटलले जनही १ करोड ५८ लाख रुपैयाँ प्राप्त गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिएबापत लामो समयदेखि भुक्तानीको प्रतीक्षामा रहेका स्वास्थ्य संस्थाहरूलाई पछिल्लो रकम निकासाले राहत पुग्ने अपेक्षा गरिएको छ।