काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा बीमा कम्पनीहरूले कुल २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।
कुल भुक्तानीमध्ये जीवन बीमा कम्पनीहरूको हिस्सा १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ रहेको छ। जीवन बीमकहरूले उक्त रकम ७७ हजार ७०९ वटा दाबीबापत भुक्तानी गरेका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को असोजसम्म जीवन बीमा कम्पनीहरूले ५८ हजार ८६३ वटा दाबीबापत ११ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ३२.०२ प्रतिशत र भुक्तानी रकम ३०.५२ प्रतिशतले बढेको छ।
तर, जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम पनि उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको असोजसम्म जीवन बीमकहरूको १ लाख २३ हजार ४८४ वटा दाबी भुक्तानी हुन बाँकी छन्। ती दाबीबापत भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको असोजसम्म ५७ हजार ३२१ वटा दाबीको ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो। यससँग तुलना गर्दा चालु आर्थिक वर्षको समीक्षा अवधिमा भुक्तानी हुन बाँकी दाबी संख्या ११५.४३ प्रतिशत र रकम १०१.९२ प्रतिशतले बढेको देखिन्छ।
निर्जीवन बीमकले गरे ७ अर्ब ९० करोड भुक्तानी
यसैगरी, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। उक्त रकम ४१ हजार ३९४ वटा दाबीबापत भुक्तानी गरिएको हो।
गत आर्थिक वर्षको असोजसम्म निर्जीवन बीमकहरूले ३२ हजार ६१५ वटा दाबीबापत ५ अर्ब ६४ करोड २ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको समीक्षा अवधिमा निर्जीवन बीमकहरूको भुक्तानी भएको दाबी संख्या २६.९२ प्रतिशत र रकम ४०.१२ प्रतिशतले बढेको छ।
यता, निर्जीवन बीमा कम्पनीहरूमा पनि भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम बढेको छ। चालु आर्थिक वर्षको असोजसम्म निर्जीवन बीमकहरूको १ लाख १३ हजार २५ वटा दाबी भुक्तानी हुन बाँकी छन्। ती दाबीबापत ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षको असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको १ लाख १० हजार २५८ वटा दाबीबापत ५२ अर्ब २० करोड ४० लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा भुक्तानी हुन बाँकी दाबी संख्या २.५१ प्रतिशत र रकम १५.०४ प्रतिशतले बढेको छ।
यस तथ्यांकले बीमा कम्पनीहरूको दाबी भुक्तानी रकममा वृद्धि भए पनि जीवन तथा निर्जीवन दुवै बीमा क्षेत्रमा भुक्तानी हुन बाँकी दाबीको चाप कायम रहेको देखाएको छ।