काठमाडौं । धादिङ र चितवन जोड्ने पृथ्वीराजमार्गअन्तर्गत घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा मंगलबार बिहान खसेको पहिरो हटाएसँगै दिउँसो २ बजेपछि राजमार्गमा सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका हुन्।
नागढुंगा–मुग्लिन सडक योजनाअन्तर्गत पर्ने यस सडक खण्डमा पछिल्ला केही दिनदेखि लगातार सुख्खा पहिरो खसिरहेको थियो। आइतबार रातिदेखि पहिरो खस्ने क्रम थप बढेपछि सडक आवागमन प्रभावित हुँदै आएको थियो।
सोमबार दिनभरजसो राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूले पहिरोका कारण सास्ती भोग्नुपरेको थियो। मंगलबार पनि पहिरोका कारण यातायात प्रभावित हुँदा यात्रुहरूले उस्तै समस्या झेल्नुपरेको थियो।
पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि सवारीसाधनको चापका कारण राजमार्गमा लामो जाम लागेको छ। सडक खुले पनि जामका कारण यात्रुहरूले तत्काल सहज यात्रा गर्न भने पाएका छैनन्।