free website hit counter

सानिमा रिलायन्स लाइफको व्यवसाय विस्तार हुँदै

beemaadmin
२०८३ कार्तिक २९, शनिबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बीमाशुल्क आर्जन उल्लेख्य रूपमा बढाएको छ। कम्पनीले साउनदेखि असोजसम्म २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस आधारमा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.२७ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.१२ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको असोजसम्म १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुर्‍याएको छ।

Advertisement
Advertisement

बीमाशुल्क आर्जनमा सुधार देखिए पनि कम्पनीको नाफामा भने सामान्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १४ करोड ९६ लाख रुपैयाँ थियो। यसअनुसार नाफा ०.४० प्रतिशतले बढेको हो।

कम्पनीको जीवन बीमा कोषको आकारमा भने उल्लेख्य विस्तार भएको छ। असोज मसान्तसम्म जीवन बीमा कोषमा २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ सञ्चित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको थियो। एक वर्षमा जीवन बीमा कोष २८.५३ प्रतिशतले बढेको हो।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै, रिटेन्ड अर्निङमा ६० करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ ९३ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको असोजसम्म ११ रुपैयाँ ९८ पैसा पुगेको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा कायम भएको छ।

सम्बन्धित समाचार