free website hit counter

कांग्रेसले एक ट्रक दुबो ल्याएर खुल्लामञ्चमा रोप्याे

beemaadmin
२०८३ कार्तिक ३०, आईतवार

काठमाडौं । आफ्नै महाधिवेशनका कारण खुलामञ्चको हरियालीमा पुगेको क्षति नेपाली कांग्रेसले आफैँ पुनःस्थापना गर्न थालेको छ । सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएपछि जिम्मेवारीबाट पन्छिने राजनीतिक दलहरूको प्रवृत्तिबीच कांग्रेसले एक ट्रक दुबो ल्याएर खुलामञ्चमा रोपेको हो ।

कांग्रेसको १५औँ महाधिवेशनका क्रममा असोज १८ देखि २२ गतेसम्म पाँच दिन खुलामञ्चमा नेता तथा कार्यकर्ताको ठूलो जमघट भएको थियो । महाधिवेशनका विभिन्न कार्यक्रमका कारण खुलामञ्चको हरियाली नष्ट भएपछि पार्टीले त्यसको पुनःस्थापनाको जिम्मेवारी लिएको हो ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाले लामो समय र प्रयास लगाएर खुलामञ्चको मर्मतसम्भार तथा हरियाली व्यवस्थापन गरी सर्वसाधारणका लागि खुला गरेको थियो । राजनीतिक कार्यक्रमका कारण सार्वजनिक स्थलमा क्षति पुगेपछि त्यसलाई बेवास्ता नगरी सम्बन्धित दलले नै मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउनुलाई सकारात्मक अभ्यासका रूपमा हेरिएको छ ।

Advertisement
Advertisement

कांग्रेसका महानगर सभापति सुसन वैद्यका अनुसार महाधिवेशनका क्रममा दुबो मासिएकाले पार्टीले पुनः रोप्ने व्यवस्था गरेको हो । अहिले एक ट्रक दुबो खुलामञ्चमा ल्याइएको र त्यसलाई महानगरको व्यवस्थापन समितिसँग समन्वय गरेर मिलाइने उनले बताए ।

खुलामञ्चमा ल्याइएको दुबो कांग्रेसका नेता तथा कार्यकर्ताले सहमहामन्त्री प्रतिमा गौतमको उपस्थितिमा मिलाएर राखेका छन् ।

पुनःस्थापनाको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कम्तीमा ३० दिन लाग्नेछ । रोपिएको दुबोलाई पूर्ण रूपमा स्थापित गर्न नियमित सिँचाइ, मलखाद तथा आवश्यक मर्मतसम्भार गरिने उनले बताए ।

राजनीतिक दलहरूले सभा, सम्मेलन तथा महाधिवेशनका लागि सार्वजनिक स्थल प्रयोग गर्दा त्यसबाट हुने क्षतिको जिम्मेवारीसमेत लिनुपर्ने सन्देश कांग्रेसको यो कदमले दिएको छ ।

सार्वजनिक सम्पत्ति प्रयोग गर्ने अधिकारसँगै त्यसको संरक्षण र पुनःस्थापनाको दायित्व पनि सम्बन्धित पक्षले बहन गर्नुपर्छ भन्ने उदाहरणका रूपमा कांग्रेसको यो अभ्यासलाई लिन सकिन्छ ।

सम्बन्धित समाचार