free website hit counter

मोदीसँग हैदरावाद हाउसमा निर्णायक वार्ता गर्दै प्रधानमन्त्री शाह, यस्तो छ भारत भ्रमणको कार्यतालिका

beemaadmin
२०८३ मंसिर २, मंगलवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। दुई दिनको भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका विभिन्न द्विपक्षीय विषयलाई निष्कर्षमा पुर्‍याउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार, विकास आयोजना र अन्य आपसी चासोका विषयमा छलफल हुनुका साथै केही सम्झौता तथा सहमतिमा हस्ताक्षर हुन सक्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमणको दोस्रो दिन मंसिर ७ गते उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रम सम्पन्न गरी उनी स्वदेश फर्कनेछन्।

Advertisement
Advertisement

दिल्लीस्थित नेपाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहको स्वागतका लागि भारतीय केन्द्रीय सरकारका एक मन्त्री विमानस्थल पुग्ने तयारी छ। भारतमा उनको बसाइका लागि ताजमान सिंह होटल वा ताज प्यालेसमध्ये एउटा छनोट गर्ने तयारी भइरहेको छ। दुवै होटल भारतीय होटल्स कम्पनी लिमिटेडअन्तर्गत सञ्चालित पाँचतारे ताज होटल ब्रान्डका हुन्।

पहिलो दिन उच्चस्तरीय भेटघाट र रात्रिभोज

नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय सरकारका महत्वपूर्ण पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। मंसिर ६ गते भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उनको भेट तय गरिएको छ।

ती भेटवार्ता प्रधानमन्त्री शाह बसेकै होटलमा हुने बताइएको छ। विशेषगरी विदेशमन्त्री जयशंकरले सोही दिन साँझ प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम छ। गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले पनि होटलमै पुगेर उनीसँग छलफल गर्नेछन्।

यसै दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्ने भएको छ। भ्रमणको पहिलो दिनका कार्यक्रमहरू मुख्यतः भारतीय सरकारका उच्च अधिकारीसँगको परिचयात्मक तथा द्विपक्षीय छलफलमा केन्द्रित रहनेछन्।

राष्ट्रपति भवनमा गार्ड अफ अनरदेखि राजघाटसम्म

भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहका लागि औपचारिक स्वागत कार्यक्रम आयोजना गरिनेछ। भारतीय राष्ट्रपति भवनमा हुने गार्ड अफ अनर कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने कार्यक्रम छ।

गार्ड अफ अनरपछि प्रधानमन्त्री शाह दिल्लीस्थित राजघाट पुग्नेछन्। त्यहाँ उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि होटल फर्किएर भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यतालिका तयार पारिएको छ। अर्थमन्त्रीसँगको छलफलमा आर्थिक सहयोग तथा नेपाल–भारतबीचको आर्थिक सम्बन्धका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग औपचारिक द्विपक्षीय वार्ता गर्नेछन्। भ्रमणको सबैभन्दा महत्वपूर्ण कूटनीतिक कार्यक्रमका रूपमा हेरिएको उक्त वार्ता नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ।

मोदीसँग दुई चरणमा वार्ता

हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच दुई चरणमा छलफल हुने गरी कार्यक्रम बनाइएको दिल्लीस्थित स्रोतहरूले बताएका छन्।

पहिलो चरणमा दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा भेटवार्ता हुनेछ। कूटनीतिक भाषामा यसलाई ‘वान प्लस फोर’ बैठक भनिएको छ। यसको अर्थ दुवै देशका प्रधानमन्त्रीसँगै उनीहरूका चार–चार जना सहयोगी सहभागी हुने बैठक हो।

त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित औपचारिक द्विपक्षीय वार्ता हुनेछ। ‘वान प्लस फोर्टिन’ भनिएको यस बैठकमा दुवै प्रधानमन्त्रीका अतिरिक्त १४–१४ सदस्य सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार नेपाल–भारतबीचका महत्वपूर्ण एजेन्डामा छलफल हुने मुख्य बैठक यही हुनेछ। लामो समयदेखि विचाराधीन रहेका विषय, आर्थिक सहकार्य, विकास आयोजना र आपसी हितका विषयमा यस बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। आवश्यक सहमति जुटेका विषयमा सम्झौता तथा समझदारीपत्र आदानप्रदान हुन सक्नेछन्।

प्रधानमन्त्री तहको औपचारिक वार्ता सम्पन्न भएपछि शाह र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत तय गरिएको छ। यद्यपि उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रश्न सोध्न पाउने गरी प्रश्नोत्तर सत्र भने राखिएको छैन।

राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट

दुई प्रधानमन्त्रीबीचको वार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्।

यससँगै भ्रमणका औपचारिक उच्चस्तरीय कार्यक्रम सम्पन्न हुनेछन्। भ्रमणको अन्त्यमा भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारमाध्यमलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिने कार्यक्रम राखिएको छ।

भारतीय सहयोगका आयोजनाको उद्घाटन पनि हुने

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालमा भारतीय सहयोगमा निर्माण भएका केही विकास आयोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने ती आयोजनाले भ्रमणमा विकास साझेदारीको विषयलाई पनि प्राथमिकता दिने देखिन्छ। यद्यपि कुन–कुन आयोजनाको उद्घाटन हुने भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

त्यस्तै, आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार र नेपाल–भारतबीच सहकार्यका अन्य क्षेत्रबारे छलफल हुने अपेक्षा गरिएको छ। लामो समयदेखि छलफलमा रहेका विषयमा सहमति जुटाउन भ्रमण उपयोगी हुने विश्वास सरकारी अधिकारीहरूले गरेका छन्।

भ्रमण खर्चको व्यवस्थापन

प्रधानमन्त्री शाहसँग भारत जाने नेपाली प्रतिनिधिमण्डलको खर्च व्यवस्थापन पनि तय गरिएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमण दलका १५ जना नेपाली अधिकारीको आवास, खानपान तथा अन्य व्यवस्थापनको खर्च भारत सरकारले बेहोर्नेछ। बाँकी भ्रमण टोलीका सदस्यहरूको खर्च भने नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ।

दुई दिने राजकीय भ्रमण पूरा गरेपछि प्रधानमन्त्री शाह मंसिर ७ गते दिउँसो नेपाल फर्कनेछन्। उनी नेपाल वायुसेवा निगमको दिउँसो ४ः५० बजेको उडानबाट काठमाडौं आउने कार्यक्रम छ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक तथा विकास साझेदारीका विभिन्न विषयमा छलफल भइरहेका बेला हुन लागेको शाहको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी दुई देशबीच लामो समयदेखि छलफलमा रहेका विषयमा कस्तो सहमति बन्छ र त्यसले आगामी सहकार्यलाई कुन दिशामा अघि बढाउँछ भन्ने चासो भ्रमणसँग जोडिएको छ।

सम्बन्धित समाचार