free website hit counter

बैंकमा ८५ खर्ब निक्षेप, निजी क्षेत्रमा ६० खर्बभन्दा बढी कर्जा प्रवाह

beemaadmin
२०८३ मंसिर ५, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप २.८ प्रतिशतले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको थियो।

Advertisement
Advertisement

वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

Advertisement
Advertisement

मुद्दती निक्षेपको हिस्सा घट्दै, बचतको बढ्दै

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको हिस्सा बढेको छ भने मुद्दती निक्षेपको हिस्सा घटेको छ।

राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ७.६ प्रतिशत, ४९.३ प्रतिशत र ३४ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा यस्तो हिस्सा क्रमशः ६.५ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत थियो। यसअनुसार एक वर्षको अवधिमा बचत निक्षेपको हिस्सा १०.६ प्रतिशत विन्दुले बढ्दा मुद्दती निक्षेपको हिस्सा १२.४ प्रतिशत विन्दुले घटेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। २०८३ असोज मसान्तमा यस्तो हिस्सा ३२.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थागत निक्षेपको हिस्सा ३५.३ प्रतिशत थियो।

निजी क्षेत्रमा कर्जा प्रवाह ३.१ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। तीन महिनामा निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्रै बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.१ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो।

वाणिज्य बैंक र विकास बैंकको कर्जा बढ्यो

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा पनि ३.१ प्रतिशतले वृद्धि भएको छ। तर, वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जाको धितो संरचनामा घरजग्गाको हिस्सा अझै उच्च देखिएको छ। असोज मसान्तसम्म कुल कर्जामध्ये चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.५ प्रतिशत रहेको छ। घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा ६२.७ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको असोज मसान्तमा यस्तो हिस्सा क्रमशः १५ प्रतिशत र ६४.३ प्रतिशत थियो। यसअनुसार घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा घटेको भए पनि कुल कर्जामा यसको वर्चस्व कायमै छ।

खनिज र यातायात उपकरण क्षेत्रमा कर्जा बढ्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न आर्थिक क्षेत्रमा प्रवाहित कर्जामा मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा सबैभन्दा धेरै खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशतले बढेको छ।

त्यस्तै, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशतले बढेको छ। धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले वृद्धि भएको छ।

सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा प्रवाहित कर्जा ५.४ प्रतिशतले बढेको छ। सेवा उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा समान ३.९ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, यातायात तथा निर्माण क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको २.३ प्रतिशत र उपभोग्य क्षेत्रको कर्जा २.३ प्रतिशतले बढेको छ।

तर, कृषि क्षेत्रतर्फ प्रवाहित कर्जा २.५ प्रतिशतले घटेको छ। वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा पनि ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

कुन प्रकृतिको कर्जा कति बढ्यो ?

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित विभिन्न प्रकृतिका कर्जामध्ये विपन्न वर्ग कर्जा सबैभन्दा धेरै १५.१ प्रतिशतले बढेको छ।

माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, व्यक्तिगत आवासीय घर कर्जासमेत समावेश भएको रियल स्टेट कर्जा ३.५ प्रतिशतले बढेको छ।

ट्रष्ट रिसिट (आयात) कर्जा र मार्जिन प्रकृतिको कर्जा समान २.९ प्रतिशतले वृद्धि भएका छन्। आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ।

यता, क्यास क्रेडिट कर्जा भने समीक्षा अवधिमा १.८ प्रतिशतले घटेको छ।

समग्रमा पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै विस्तार भएका छन्। निक्षेपको तुलनामा कर्जा विस्तारको गति केही तीव्र देखिएको छ। यसले बैंकिङ प्रणालीमा निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढ्दै गएको संकेत गर्छ।

सम्बन्धित समाचार