काठमाडौं । नेपालमा बीमाङ्कीय शिक्षा, अनुसन्धान तथा व्यावसायिक अवसर विस्तार गर्ने उद्देश्यसहित काठमाडौंमा ‘बीमाङ्कीय सम्पर्क’ कार्यक्रम सम्पन्न भएको छ। शनिबार सोल्टी होटलमा आयोजित कार्यक्रममा नेपालमा बीमाङ्कीय पेशाको विकास, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य र दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल गरिएको हो।
दक्षिण एसियाली बीमाङ्कीय सञ्जाल र अमेरिकास्थित व्यावसायिक संस्था सोसाइटी अफ एक्चुरिजको सहकार्यमा आयोजित कार्यक्रममा करिब १६० जनाको सहभागिता थियो। कार्यक्रममा बीमाङ्कीय विज्ञानका विद्यार्थी, व्यावसायिक परीक्षाको तयारी गरिरहेका परीक्षार्थी, प्राध्यापक, बीमा क्षेत्रका विज्ञ तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा नेपालमा बीमाङ्कीय पेशाको सम्भावना, अन्तर्राष्ट्रिय व्यावसायिक परीक्षा, करियर विकास तथा बीमा क्षेत्रमा दक्ष जनशक्तिको बढ्दो आवश्यकताबारे छलफल गरिएको थियो। सहभागीहरूले नेपालमा बीमाङ्कीय शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राध्यापक डा. शंकरप्रसाद खनालले नेपालमा दक्ष बीमाङ्कीय जनशक्ति विकासको आवश्यकता तथा शैक्षिक संस्थाहरूको भूमिकाबारे धारणा राखेका थिए।
त्यसैगरी, सोसाइटी अफ एक्चुरिजका क्षेत्रीय निर्देशक जैन इब्राहिमले अन्तर्राष्ट्रिय बीमाङ्कीय योग्यता, व्यावसायिक परीक्षा प्रणाली र यस क्षेत्रमा उपलब्ध रोजगारी तथा करियरका अवसरबारे प्रस्तुति दिएका थिए। त्यस्तै, एक्चुरियल एजुकेसनल इन्स्टिच्युटका अंकित पटवारीले वरिष्ठ बीमाङ्कीय विज्ञ बन्ने आफ्नो अनुभव सुनाउँदै विद्यार्थीले व्यावसायिक यात्रामा ध्यान दिनुपर्ने विषयबारे जानकारी गराएका थिए।
कार्यक्रममा विभिन्न विषयमा प्रस्तुति, अन्तरक्रिया तथा समूहगत छलफलसमेत सञ्चालन गरिएको थियो।
यसै अवसरमा गणितीय विज्ञान अध्ययनशालाले नेपालमा बीमाङ्कीय शिक्षाको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि सोसाइटी अफ एक्चुरिजसँग दीर्घकालीन शैक्षिक सहकार्यको प्रस्ताव अघि सारेको छ।
प्रस्तावमा नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय व्यावसायिक परीक्षामा सहभागी हुन सहज बनाउने उद्देश्यले सहुलियतपूर्ण परीक्षा शुल्क, छात्रवृत्ति तथा परीक्षा तयारीमा सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइएको छ। साथै प्राध्यापकको क्षमता विकास, संयुक्त अनुसन्धान, मार्गदर्शन तथा अभ्यासमूलक तालिमका अवसर सिर्जना गर्ने प्रस्तावसमेत समेटिएको छ।
गणितीय विज्ञान अध्ययनशालाका कार्यक्रम संयोजक केशव राज फुलाराका अनुसार त्रिभुवन विश्वविद्यालयले नेपालमा बीमाङ्कीय शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य विस्तार गर्न सके नेपाली विद्यार्थीलाई विश्वस्तरीय व्यावसायिक अवसर उपलब्ध गराउन र नेपालमै दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उनको भनाइ छ।
नेपालको बीमा, पुनर्बीमा, पेन्सन तथा वित्तीय जोखिम व्यवस्थापनका क्षेत्रमा बीमाङ्कीय जनशक्तिको आवश्यकता बढ्दै गएको छ। बीमा कम्पनीहरूको वित्तीय अवस्था मूल्याङ्कन, जोखिम विश्लेषण, बीमा शुल्क निर्धारण, दायित्व गणना तथा दीर्घकालीन वित्तीय योजनामा बीमाङ्कीय विज्ञताको महत्त्वपूर्ण भूमिका रहन्छ।
यस्तो अवस्थामा नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय व्यावसायिक संस्थासँगको सहकार्य आवश्यक देखिएको छ। प्रस्तावित सहकार्य कार्यान्वयनमा आए नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा, परीक्षा तयारी र व्यावसायिक सञ्जालमा पहुँच पाउने अपेक्षा गरिएको छ।
आयोजकहरूका अनुसार यस कार्यक्रमले विद्यार्थी, शैक्षिक संस्था र बीमा क्षेत्रबीचको सम्बन्ध विस्तार गर्नुका साथै नेपालमा बीमाङ्कीय शिक्षाको विकास र अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।