free website hit counter

शुल्क र सिट संख्या पुनरवलोकन नभए मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

beemaadmin
२०८३ मंसिर ८, सोमबार

काठमाडौं । शिक्षण शुल्क र विद्यार्थी भर्ना सिट संख्या पुनरवलोकन गर्नुपर्ने माग राख्दै निजी मेडिकल कलेज सञ्चालकहरूले स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला निजी मेडिकल कलेजहरूले यस्तो अडान सार्वजनिक गरेका हुन्।

निजी मेडिकल तथा डेन्टल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण शुल्क समायोजन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसकिने जनाएको छ।

Advertisement
Advertisement

एसोसिएसनले भर्ना प्रक्रिया सुरु गर्नुअघि स्नातक र स्नातकोत्तर दुवै तहमा विद्यार्थी संख्या बढाउनुपर्ने माग गरेको छ। साथै, चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि निर्धारण गरेको सिटको आधार र मूल्याङ्कन प्रक्रिया सार्वजनिक गर्न पनि आग्रह गरेको छ।

Advertisement
Advertisement

चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ। अब भर्ना प्रक्रिया सुरु गर्ने तयारीमा आयोग छ। तर निजी मेडिकल कलेज सञ्चालकहरूले प्रधानमन्त्री अध्यक्ष रहेको आयोगलाई तत्काल भर्ना प्रक्रिया अघि नबढाउन आग्रह गरेका छन्।

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र मानसिंह कार्कीले आयोगले सिट निर्धारण गर्दा अपनाएको मापदण्ड (यार्डस्टिक), मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार (वेटेज), गणना विधि र शिक्षण संस्थाले प्राप्त गरेको मूल्याङ्कन विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्।

उनले प्रत्येक मेडिकल तथा डेन्टल कलेजको व्यक्तिगत मूल्याङ्कन विवरण (इन्डिभिजुअल कलेज स्कोर कार्ड) २४ घण्टाभित्र आयोगको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्। कुन कलेजको सिट वृद्धि, यथावत् वा कटौती गरिएको हो भन्ने स्पष्ट आधार र कारण पनि खुलाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ अनुसार शिक्षण शुल्क पुनरवलोकन तथा समायोजन गर्नुपर्ने एसोसिएसनको माग छ। अध्यक्ष कार्कीका अनुसार विगत पाँच वर्षदेखि शिक्षण शुल्क पुनरवलोकन भएको छैन।

‘२०७८/०७९ देखि हालसम्म शिक्षण शुल्क पुनरवलोकन हुन सकेको छैन। पाँच वर्षदेखि एउटै शुल्कमा पढाइरहेका छौँ। महँगी बढ्यो, लागत खर्च बढ्यो। सोही शुल्कमा पढाउन सकिँदैन,’ कार्कीले नेपालखबरसँग भने, ‘सिट पनि नबढाउने, शुल्क पनि नबढाउने हो भने अब पढाउन सकिँदैन।’

अध्यक्ष कार्कीले चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड पूरा गरेका मेडिकल कलेजको विद्यार्थी भर्ना क्षमता बढाउँदै लैजानुपर्ने बताए। उनका अनुसार कलेजले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर मापदण्ड पूरा गरेको अवस्थामा विद्यार्थी संख्या बढाउन रोक्नु उचित हुँदैन।

‘मैले मापदण्ड पुर्‍याएँ भने एमबीबीएसमा १५० जना विद्यार्थी पढाउन किन सक्दिनँ? मापदण्डअनुसार त सरकार जानुपर्‍यो नि! एमबीबीएसको प्रवेश परीक्षामा २७ सय सिट छ। १० हजार पास भएका छन्। पास भएका विद्यार्थीले पढ्न पाउन पनि सिट संख्या बढ्नुपर्दैन?’ उनले प्रश्न गरे।

निजी मेडिकल कलेजमा सिट संख्या बढाउँदा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढ्ने र यसबाट राज्यलाई थप आर्थिक भार नपर्ने एसोसिएसनको दाबी छ। सरकारले आफूलाई आर्थिक भार नपर्ने विषयमा समेत निर्णय गर्न आनाकानी गरेको अध्यक्ष कार्कीको आरोप छ।

उनले विगत पाँच आर्थिक वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशत पुगेको दाबी गर्दै मेडिकल कलेज सञ्चालनको लागत उल्लेख्य रूपमा बढेको बताए। यस अवधिमा शिक्षक, नर्सिङ तथा अन्य कर्मचारीको पारिश्रमिक, न्यूनतम ज्याला, विद्युत्, इन्धन, परीक्षा सञ्चालन, विश्वविद्यालय शुल्क, शैक्षिक सामग्री, प्रयोगशाला, उपकरण र अस्पताल सञ्चालन खर्च बढेको उनको भनाइ छ।

शिक्षण शुल्क समायोजन नभए स्नातकोत्तर तह (पीजी) को सेल्फ अप्रेजल प्रक्रिया पूरा गर्नसमेत कठिन हुने कार्कीले बताएका छन्। उनले समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोग, शिक्षा तथा स्वास्थ्य मन्त्रालय, सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठान तथा निजी मेडिकल र डेन्टल कलेजका प्रतिनिधिबीच तत्काल संयुक्त बैठक आयोजना गर्न माग गरेका छन्।

गत वर्ष निजी मेडिकल कलेजमा मात्रै बढेको थियो सिट

सरकारले गत वर्ष एमबीबीएस अध्ययनका लागि निजी मेडिकल कलेजको सिट संख्या बढाएको थियो। निजी मेडिकल कलेज सञ्चालकहरूको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एमबीबीएसको सिट संख्या १३० सम्म पुर्‍याइएको थियो। त्यसबेला निजी मेडिकल कलेजमा एमबीबीएसतर्फ ४९५ सिट थपिएका थिए।

यस वर्ष भने चिकित्सा शिक्षा आयोगले सरकारी शिक्षण संस्था तथा प्रतिष्ठानमा एमबीबीएसतर्फ ११० सिट थप गरेको छ। निजी कलेजको सिट संख्या नबढाई सरकारी संस्थामा मात्रै सिट थप गरिएको भन्दै सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २८औँ बैठकले एमबीबीएसमा ११० सहित विभिन्न चिकित्सा शिक्षा कार्यक्रमतर्फ कुल ४१८ सिट थप गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयअनुसार यस वर्ष ८४ वटा शिक्षण संस्थाका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरिएको छ।

सिट निर्धारणको निर्णयपछि आयोगले एमबीबीएससहित स्नातक तहका विभिन्न चिकित्सा शिक्षा कार्यक्रमको भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यही समयमा निजी मेडिकल कलेज सञ्चालकहरूले सिट र शुल्क पुनरवलोकनको माग अघि सारेका हुन्।

आयोग भन्छ– यस वर्ष सिट र शुल्क बढाउन सम्भव छैन

निजी मेडिकल कलेज सञ्चालकहरूले सिट संख्या र शिक्षण शुल्क पुनरवलोकनको माग गरे पनि चिकित्सा शिक्षा आयोगले यस वर्ष तत्काल त्यसलाई सम्बोधन गर्न कठिन रहेको जनाएको छ।

आयोगका उपाध्यक्ष डा. देवेन्द्रबहादुर खत्रीका अनुसार यस वर्षका लागि सिट निर्धारण आयोगको बैठकबाटै टुंग्याइसकिएको छ। एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजासमेत सार्वजनिक भइसकेकाले पुनः सिट बढाउन सहज नभएको उनको भनाइ छ।

उनले गत वर्ष नै निजी मेडिकल कलेजको सिट संख्या वृद्धि गरिएकाले यस वर्ष सरकारी शिक्षण संस्था तथा प्रतिष्ठानमा मात्रै सिट थप गर्ने योजना बनाइएको बताए।

‘गत वर्ष मात्रै निजीको सिट बढेको छ। यो वर्ष सरकारीमा मात्र बढाउने योजनाअनुसार आयोगको बैठकबाट सिट बढाइएको हो। एमबीबीएसको सिट निर्धारण भएर एकीकृत प्रवेश परीक्षाको नतिजा आइसकेको छ,’ उपाध्यक्ष खत्रीले नेपालखबरसँग भने, ‘यो वर्षका लागि सिट र शुल्क निर्धारण भइसकेको छ। मलाई लाग्दैन कि अब फेरि बढाउन मिल्छ।’

यद्यपि निजी मेडिकल कलेज सञ्चालकहरूले औपचारिक रूपमा माग राखेकाले त्यसबारे छलफल गर्न सकिने उनले बताए।

‘के गरेर अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गर्छौँ। मन्त्रालयहरूसँग पनि बस्छौँ,’ खत्रीले भने।

आयोगले चालु शैक्षिक सत्रका लागि एमबीबीएस अध्ययनको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, बीडीएस अध्ययनका लागि २० लाख ९२ हजार २९० रुपैयाँ र बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यसैगरी बीएससी एमआईटी, बीपीटी, बी मेडिकल माइक्रोबायोलोजी, बी बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक र बीएएसएलपी लगायतका विषयमा अध्ययन गर्न सात लाख ७७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

निजी मेडिकल कलेज सञ्चालकहरू शुल्क र सिट संख्या पुनरवलोकन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउने अडानमा छन् भने आयोगले यस वर्षको सिट र शुल्क निर्धारण भइसकेकाले तत्काल परिवर्तन गर्न नसकिने संकेत गरेको छ। यसले नयाँ शैक्षिक सत्रको चिकित्सा शिक्षा भर्ना प्रक्रियामा अन्योल सिर्जना गरेको छ।

सम्बन्धित समाचार