काठमाडौं । नियामक निकायको प्रभावकारी अनुगमन र निर्देशन कार्यान्वयनमा कडाइ हुन सके मात्रै बीमा व्यवसायलाई व्यवस्थित र अनुशासित बनाउन सकिन्छ । लामो समयदेखि विभिन्न नियामकीय निर्देशनको पालना नगरी सञ्चालन भइरहेका लघु बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले अब सम्बन्धित प्रदेशमै प्रधान कार्यालय राख्न निर्देशन दिएको छ ।
प्राधिकरणले इजाजतपत्र प्राप्त सातवटै लघु बीमा कम्पनीका प्रतिनिधिलाई कार्यालयमै बोलाएर इजाजतपत्र जारी गर्दाको सर्तअनुसार सम्बन्धित प्रदेशमा प्रधान कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
प्राधिकरणको मुख्य कार्यालय कुपण्डोलमा सोमबार आयोजित छलफलमा अध्यक्ष राजनविक्रम थापाले लघु बीमकका प्रतिनिधिलाई यस्तो निर्देशन दिएका हुन् ।
पाँच वर्षअघि लघु बीमा व्यवसाय सञ्चालनका लागि इजाजतपत्र दिँदा नै प्राधिकरणले सम्बन्धित प्रदेशको राजधानीमा प्रधान कार्यालय स्थापना गर्नुपर्ने सर्त राखेको थियो । सोही सर्तअनुसार इजाजतपत्र जारी गर्नुअघि कम्पनीहरूको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापनलगायतका विषयमा प्राधिकरणले निरीक्षणसमेत गरेको थियो ।
तर, इजाजतपत्र प्राप्त गरेपछि सबैजसो लघु बीमा कम्पनीले सम्बन्धित प्रदेशमा देखावटी कार्यालय राखेर वास्तविक प्रशासनिक तथा व्यवस्थापकीय काम काठमाडौं केन्द्रित बनाउँदै आएका थिए । कम्पनीहरूले काठमाडौंमा पूर्वतयारी अवस्थामा राखिएका कार्यालयमार्फत प्रधान कार्यालय सञ्चालन गरे पनि प्राधिकरणले सुरुदेखि नै यसबारे जानकारी पाएको बताइन्छ ।
इजाजतपत्र जारी गर्दाको सर्त उल्लंघन भइरहँदा पनि प्राधिकरणले यसअघि कम्पनीमाथि प्रभावकारी नियामकीय कारबाही गर्न सकेको थिएन । अहिले भने नयाँ नेतृत्व आएपछि प्राधिकरणले पुराना निर्देशन तथा सर्त कार्यान्वयन गराउने विषयलाई प्राथमिकतामा राखेको देखिएको छ ।
प्राधिकरणले प्रदेशअनुसार लघु बीमा कम्पनीहरूको प्रधान कार्यालयको स्थानसमेत तोकेको छ । जसअनुसार कर्णाली प्रदेशका लागि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई वीरेन्द्रनगर, सुर्खेतमा प्रधान कार्यालय राख्नुपर्नेछ ।
गण्डकी प्रदेशका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पोखरा, बागमती प्रदेशका लागि नेपाल माइक्रो इन्स्योरेन्सले भरतपुर, चितवनमा प्रधान कार्यालय सञ्चालन गर्नुपर्नेछ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धनगढी, मधेश प्रदेशका लागि स्टार माइक्रो इन्स्योरेन्सले जनकपुर, लुम्बिनी प्रदेशका लागि ट्रष्ट माइक्रो इन्स्योरेन्सले बुटवल र कोशी प्रदेशका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले विराटनगरमा प्रधान कार्यालय राख्नुपर्ने प्राधिकरणको सर्त छ ।
प्राधिकरणसम्बद्ध स्रोतका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रधान कार्यालयका कर्मचारी तथा कार्यसम्पादनसँग सम्बन्धित संरचना नै काठमाडौं बाहिर तोकिएको स्थानमा लैजान निर्देशन दिइएको छ ।
‘जबरजस्ती पठाउनेभन्दा पनि इजाजतपत्र लिँदाको सर्तबारे ध्यानाकर्षण गराएर आफैं फर्किन प्रेरित गरेका हौँ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसमा नियामकीय बल प्रयोग गर्नुपर्ने अवस्था नहोला ।’
नियमन प्रभावकारी बनाउने चुनौती
बीमा क्षेत्रमा लामो समयदेखि संस्थागत सुशासन, नियामकीय निर्देशनको पालना, व्यवसाय विस्तार र सेवा प्रवाहको गुणस्तरलगायतका विषयमा सुधारको आवश्यकता औँल्याइँदै आएको छ । विशेषगरी नयाँ व्यवसायका रूपमा विकास हुँदै गरेको लघु बीमा क्षेत्रमा नियामकले तोकेका सर्तको पालना हुनु थप महत्वपूर्ण छ ।
लघु बीमा कम्पनीलाई प्रदेशस्तरमै प्रधान कार्यालय राख्न लगाउने निर्णयले सम्बन्धित प्रदेशमा रोजगारी सिर्जना, स्थानीय जनशक्तिको उपयोग र बीमा सेवाको पहुँच विस्तारमा सहयोग पुग्न सक्छ । तर, कार्यालयको ठेगाना मात्र परिवर्तन गरेर उद्देश्य पूरा हुँदैन । व्यवस्थापन, निर्णय प्रक्रिया, कर्मचारी र वास्तविक कार्यसम्पादनसमेत सम्बन्धित प्रदेशमा स्थानान्तरण हुन आवश्यक छ ।
प्राधिकरणले यसअघि नै तोकेका सर्त कार्यान्वयन गराउन नसकेको अवस्थामा अहिलेको निर्देशन कति प्रभावकारी रूपमा लागू हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुनेछ । कम्पनीहरूले निर्देशन पालना नगरेमा नियामकले कानुनअनुसार आवश्यक कदम चाल्न सक्नुपर्छ ।
नियामक निकायको प्रभावकारिता निर्देशन जारी गर्नुमा मात्र सीमित हुँदैन, त्यसको कार्यान्वयन सुनिश्चित गर्न सक्ने क्षमतामा पनि निर्भर गर्छ । त्यसैले लघु बीमा कम्पनीलाई प्रदेशमा फर्काउने यो पहललाई बीमा क्षेत्रको समग्र नियामकीय सुधारसँग जोडेर अघि बढाउनुपर्ने देखिन्छ ।