free website hit counter

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर बेच्दै ग्लोबल आइएमई बैंक

beemaadmin
२०८३ मंसिर ९, मंगलवार

काठमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो ठूलो परिमाणको संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले कम्पनीमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकेर सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । तोकिएको न्यूनतम मूल्यका आधारमा बिक्रीमा राखिएको सेयरको कुल मूल्य १ अर्ब १६ करोड ९२ लाख ८० हजार रुपैयाँ हुन आउँछ ।

Advertisement
Advertisement

सेयर बिक्री प्रक्रियाअन्तर्गत पहिलो प्राथमिकता रिलायबल नेपाल लाइफका विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित रकम खुलाएर आवेदन दिनुपर्नेछ ।

Advertisement
Advertisement

प्रचलित व्यवस्थाअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो अवसर सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने हुन्छ । उनीहरूले खरिद गर्न इच्छा नदेखाएमा मात्रै अन्य योग्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न सकिने व्यवस्था छ ।

ग्लोबल आइएमई बैंक रिलायबल नेपाल लाइफको सबैभन्दा ठूलो संस्थापक सेयरधनी हो । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार बैंकको कम्पनीमा १० प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकसँग कुल ५१ लाख ९६ हजार ८०० कित्ता सेयर रहेकोमा ४६ लाख ७७ हजार १२० कित्ता बिक्री गर्न लागेको हो ।

बैंकले बिक्रीमा राखेको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा त्यसपछि अन्य योग्य लगानीकर्ताका लागि बिक्री प्रक्रिया अघि बढ्न सक्नेछ ।

यससँगै रिलायबल नेपाल लाइफमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर स्वामित्व घट्नेछ । बैंकले आफ्नो लगानी व्यवस्थापन तथा पुँजी परिचालन रणनीतिअनुसार ठूलो परिमाणको सेयर बिक्री गर्न लागेको हो ।

सम्बन्धित समाचार