काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूबाट बीमालेख धितो राखेर ९५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूबाट साउनदेखि असोज मसान्तसम्ममा बीमितले कुल ९५ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ कर्जा लिएका हुन् ।
बीमा कम्पनीहरूले बीमितलाई आफ्नो बीमालेखको समर्पण मूल्य (सरेन्डर भ्यालु) का आधारमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्तो कर्जामा बीमितले बीमालेख नै धितोका रूपमा राख्नुपर्ने हुन्छ । व्यक्तिगत आर्थिक आवश्यकता पूरा गर्न सहज हुने भएकाले बीमालेख धितो कर्जा जीवन बीमाका महत्वपूर्ण सुविधामध्ये एक बनेको छ ।
पहिलो त्रैमासमा सबैभन्दा धेरै बीमालेख धितो कर्जा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले लिएका छन् । कम्पनीका बीमितले ३४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कर्जा लिएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका बीमितले ३५ अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जा लिएका थिए । यसअनुसार गत वर्षको तुलनामा कर्जा प्रवाह १.२७ प्रतिशतले घटेको छ ।
नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) का बीमितले सबैभन्दा धेरै कर्जा लिएका छन् । कम्पनीका बीमितले पहिलो त्रैमासमा १९ अर्ब ६८ करोड रुपैयाँ बराबरको कर्जा लिएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २१ अर्ब १४ करोड रुपैयाँभन्दा बढी थियो । यसअनुसार कम्पनीको बीमालेख धितो कर्जा ६.८८ प्रतिशतले घटेको छ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सका बीमितले १२ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका बीमितले १२ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कर्जा लिएका थिए । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह ०.०२ प्रतिशतले बढेको छ ।
यसैगरी, एशियन लाइफ इन्स्योरेन्सका बीमितले ५ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा लिएका छन् । सानिमा रिलायन्स लाइफका बीमितले २ अर्ब ६ करोड रुपैयाँ, मेट लाइफका बीमितले १ अर्ब ७२ करोड रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफका बीमितले १ अर्ब ५६ करोड रुपैयाँ कर्जा लिएका छन् ।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सका बीमितले १ अर्ब ४० करोड रुपैयाँ, सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ, सन नेपाल लाइफका बीमितले ८० करोड ४९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफका बीमितले ७० करोड २६ लाख रुपैयाँ बराबरको कर्जा लिएका छन् ।
समग्रमा जीवन बीमा कम्पनीहरूबाट ठूलो परिमाणमा बीमालेख धितो कर्जा प्रवाह भएको देखिन्छ । यद्यपि, प्रमुख कम्पनीमध्ये नेपाल लाइफ र एलआईसी नेपालको कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा घटेको छ भने नेशनल लाइफमा सामान्य वृद्धि देखिएको छ । बीमालेख धितो कर्जाको यस्तो प्रवृत्तिले बीमितको वित्तीय आवश्यकता र बीमा कम्पनीहरूको लगानी तथा कर्जा व्यवस्थापनलाई समेत प्रतिबिम्बित गर्छ ।