free website hit counter

चण्डेश्वरीका विद्यार्थीलाई काशी–नर्मदाको छात्रवृत्ति

beemaadmin
२०७६ माघ २४, शुक्रबार

धादिङ । धादिङ जिल्लाको जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका– ९ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । काशी–नर्मदा स्मृति प्रतिष्ठानले सो विद्यालयमा अध्ययन गरी एसइइ परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने एक छात्र र एक छात्राले सो पुरस्कार प्राप्त गरेका हुन् । प्रतिष्ठानले प्रत्येक वर्ष ‘सन्तकुमारी छात्रबृत्ति’ प्रदान गर्र्दै आइरहेको छ । प्रतिष्ठानको १७ औ वार्षिक उत्सवको अवसरमा विगत तीन वर्षको पुरस्कार पनि एकैपटक विरतण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशका सचिव गोकर्णमणि दुवाडीले सरकारी विद्यालयहरुमा पठनपाठ संस्कृतिको विकास गर्ने सन्दर्भमा यस्ता पुरस्कारहरु सार्थक बन्ने बताउँदै सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि स्थानीय, प्रदेश र सघीय तीनै तहका सरकारको समन्वय र सहयोग आवश्यक रहेको बताउनभुएको थियो । उहाँले विद्यालयका उत्कृष्ट छात्रछात्रालाइ प्रतिष्ठानले छात्रबृत्ति प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कामले पुन्य मिल्ने बताउनुभयो । सचिव दुवाडीले प्रतिष्ठानका यस्ता कार्य अरुका लागि पनि प्रेरणादायी बन्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थी र अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहने बताउनुभएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले छात्रबृत्तिले विद्यार्थीहरुको मनोबल उकास्न मद्दत पुर्याएको बताउनुभएको थियो ।  कार्यक्रममा प्रतिष्ठानका सस्थापक सभापति धर्मराज दुवाडीले छात्रबृत्ति वितरण सुरु गर्दाताका २० हजारबाट सुरु गरिएको अक्षयकोष अहिले एक लाख पुर्याइएको बताउँदै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिका– ९ का स्थानीय धर्मराज दुवाडीले आफ्ना स्वर्गिय आमा–बुवा र सानी आमाको नाममा स्थापना गर्नुभएको प्रतिष्ठानले हरेक वर्ष चण्डेश्वरी माद्यमिक विद्यालयका विद्यार्थीहरुलाइ छात्रबृत्ति वितरण गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार