काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना भइरहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ ।
भगवान शिवलाई पूजा गर्ने सामग्रीहरु
शमीको पात, वास्नादार फूलहरु, वेलपत्र, धतुरो, भांग, बेल, आम्रमन्जुरी, जौको बाला, तुलसीको दल, गाईको काँचो दूध, उखुको रस, दही, घीउ, मह, गंगाजल, जल, कपूर, धूप, दियो, रुवा, चन्दन, पञ्चफल, पञ्चमेवा, पञ्चरस, सुगन्ध, जनै, पञ्चमिठाई, शिव र पार्वको श्रृंगारका सामग्रीहरु, दक्षिणा, पूजाका थालहरु आदि ।
यस्तो छ पूजा विधि
शिवरात्रिमा रातका चारै प्रहरमा भगवान् शिवको पूजा गर्ने विधान छ। पत्येक प्रहरमा षोडषोपचारले पूजा गरी विशेष अर्घ्य दिनुपर्छ। प्रथम प्रहरको पूजापछि शिवलिंगलाई दूधले विशेष स्नान गराएर बेलका पात वा फलसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ
ॐ नमो यज्ञ जगन्नाथ नमस्त्रिभुवनेश्वर।
पूजां गृहाण मद्दत्तां महेश प्रथमे पदे।
द्वितीय प्रहरको पूजापछि शिवजीलाई दहीले विशेष स्नान गराएर बिमिरो वा कागतीसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ।
ॐ नमोऽव्यक्ताय सूक्ष्माय नमस्ते त्रिपुरान्तक ।
पूजां गृहाण देवेश यथाशक्त्युपपादितम् ।।
तृतीय प्रहरको पूजापछि शिवजीलाई घिउले विशेष स्नान गराएर केरासमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—
ॐ बद्धोऽहं विविधैः पाशैः संसारभवबन्धनैः ।
पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।।
चतुर्थ प्रहरको पूजापछि शिवजीलाई महले विशेष स्नान गराएर यो मन्त्रले अर्घ्य दिनुपर्छ—
ॐ नमः शिवाय शान्ताय सर्वपापहराय च।
शिवरात्रौ मया दत्तं गृहाणाघ्यं नमोऽस्तु ।।
त्यसपछि बिहानको समयमा स्नानादि नित्यकर्म गरेर विधिवत् षोडषोपचारले पूजा गरी यस मन्त्रले विशेष अर्घ्य दिनुपर्दछ—
ॐ दुःखदारिद्र्यभावैश्च दग्धोऽहं पार्वतीपते ।
मां वै त्राहि महादेव किं न जानासि शंकर ।।
किं न जानासि देवेश तावद् भक्तिं प्रयच्छ मे ।
स्वपादाग्रतले देव दास्यं देहि जगत्पते ।।
विशेष अर्घ्यपश्चात् पूजा समापन गरी ब्राह्मणलाई दक्षिणा दिएर भोजन गराउनुपर्छ।