free website hit counter

युवा शसक्तिकरणका लागि यस्तो हुनुपर्छ राज्यको भूमिका

beemaadmin
२०७६ फाल्गुन १०, शनिबार

नेपालमा युवा जनशक्ति वर्षेनी पलायन हुनेक्रम रोकिएको छैन । रोजगारीका नाममा होस् या शिक्षाका नाममा, युवा पलायनका अवस्था झन झन् बिकराल बन्दै गएको छ । राष्ट्र निर्माणका लागि चाहिने शक्ति नै आज विदेशी भूमिमा पसिना बगाउन पुगेपछि देशमा श्रम गर्ने युवा जनशक्तिको अभाव खड्किँदै गएको छ । सरकार युवाहरूलाई स्वदेशमै रोजगारी दिएर पलायनको अवस्था रोक्ने आकर्षक नाराहरू अघि सार्छ तर व्यवहारमा कार्यान्वयन नगरेका कारण उक्त नारा नारामै सीमित हुन पुगेको छ ।

जनगणना २०६८ अनुसार नेपालमा युवाको जनसंख्या १ करोड ७ लाख रहेको अर्थात् कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको देखिन्छ । नेपाल सरकारको आधिकारीक निकाय राष्ट्रिय युवा परिषद्को ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष समेर समूहकालाई युवा उमेर समूह निर्धारण गरेको छ । संंयुक्त राष्ट्रसंघ र विश्व बैंकजस्ता संस्थाले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा माने पनि पछिल्लो पटक संयुक्त राष्ट्रसंघले युएनएससीआरका सन्दर्भमा १५ देखि २९ वर्ष उमेर समूहका युवा मान्न सकिने आत्मसात गरेको अवस्था छ । नेपाल सरकारका निकायहरूमा युवाको उमेर समूहबारे एकरुपता कायम हुन नसकेपछि नेपालमा युवा विकास तथा परिचालनका लागि युथ भिजन २०२५ ले १६ देखि २४ वर्ष र २५ देखि ४० दुई उमेर समूह विभाजन गरी प्रथामिकता निर्धारण गरेको अवस्था छ ।

पछिल्लो जनगणनाले युवा जनसंख्या ४०.३५ प्रतिशत रहेको देखाए पनि युवाहरूको जनसंख्यामा वृद्धि हुँदै गएको अवस्था छ । युवा विकास सूचांकमा नेपाल विश्वको ७७ औं स्थानमा रहेको छ । त्यस्तै तथ्यांकहरूले १९.२ प्रतिशत युवा पूर्ण रुपमा बेरोजगार रहेको तथ्यांक सार्वजनिक गरेका छन् । यो भनेको सन्तोषजनक अवस्था होइन । नेपाल कृषिप्रधान देश भएको बताइरहँदा कृषिमा युवा आकर्षण पछिल्लो समय बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगार तथा अन्य कारणले विदेश गएर अनुभव हासिल गरेर वा बाध्यता तथा परिबन्धमा परेर स्वदेश फर्किएका युवाहरू व्यवसायिक कृषिमा संलग्न हुँदै गएका छन् । व्यवसायिक कृषिका अलावा अन्य समूहगत रुपमा सहभागी भई अन्य उद्योगहरूमा लगानी सहभागी हुने युवाहरूको संख्या पनि बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।

२६.१ प्रतिशत युवाहरू साक्षर भएर पनि बेरोजगार अवस्थामा छन् । स्वदेशमा रोजगारीको सम्भावना नदेखेर विदेशिन युवाहरूको प्रतिशत दर झन पछि झन बढ्दो छ । यसरी विदेशी भूमिलाई कर्मथलो बनाउने युवाहरूमा २४ प्रतिशत अदक्ष जनशक्ति र २ प्रतिशत मात्रै दक्ष जनशक्ति विदेशीने गरेको छ । वार्षिक करिब पाँच लाख युवा जनशक्ति विदेशीने गरेको छ । विदेशीएका जनशक्तिबाट भित्रिएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिरहेको छ । अर्थतन्त्रमा रेमिट्याको योगदान २९ प्रतिशत रहेको छ । युवामैत्री कानुन, ऐन नियम, सरकारी कार्यालयहरू रहेको भए पनि समयक्रमअनुसारका युवा मैत्री कार्यक्रम, रोजगारीको वृद्धि र पेसा तथा व्यवसाय गर्ने वातावरण अझै विकसित हुन नसकेको अवस्थाले गर्दा युवा पलायन रोकिन सकेको छैन ।

संविधानसभाको निर्वाचनले निर्माण गरेको संविधान र त्यही संविधानका आधारमा भएको निर्वाचनबाट स्थायी सरकारको गठन भए पनि र राजनीतिक स्थायित्व एवं शान्ति सुरक्षाको अवस्था सुध्रिँदै गएको भए पनि देशमै युवा जनशक्तिलाई रोक्ने अवस्था सबल बन्न सकिरहेको छैन । यसले गर्दा सरकारको योजना सफल बन्न गाह्रो भइरहेको छ । नेपाली युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, समृद्ध, न्यायपूर्ण र युवामैत्री राष्ट्र बनाउने अभियानलाई साकार बनाउनका लागि राजनीतिक दलहरू र सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । संघको युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित कार्यक्रमहरू सञ्चालन र कार्यान्वयन गर्नकै लागि वर्षेनी अरवौं खर्च गरे पनि उपलब्धी सोचेअनुसार हालिस हुन सकेको छैन । मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले पनि ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेरै युवा लक्षित कार्यक्रमहरू गर्दै आएको छ । तर धेरै युवाहरूलाई सो कार्यालयको कार्यक्रमबारे पत्तै छैन ।

यो विडम्बनापूर्ण अवस्था छ । युवाहरूको नेतृत्व तथा क्षमताको विकास, उद्यमसिलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता र समृद्ध राष्ट्र निर्माणलाई युवा लक्षित कार्यक्रमको दीर्घकालिन लक्ष्यको रुपमा सरकारले अघि सारेको अवस्था छ । संघीयतापछि प्रदेश र स्थानीय सरकारले पनि युवा लक्षित कार्यक्रमलाई सँगसँगै लैजान आवश्यक छ । तर एउटै निकायबाट धेरैवटा कार्यक्रम गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा स्थानीय र प्रदेश सरकारले लाभदायक युवा लक्षित कार्यक्रम सञ्चालन गर्न नसकिरहेको अवस्था छ ।

युवा वर्गमा सिर्जजनशीलता, उद्यमशिलता तथा अन्वेषणको क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरूमा रहेको ज्ञान र क्षमताको उजागर गर्ने, युवाहरूको आधारभूत अधिकारहरूको सुनिश्चितता गर्दै उत्पादनशील स्रोतहरूमा उनीहरूको पहुँच बढाएर राज्यका सबै क्षेत्रमा उनीहरूको पहुँचको विस्तार र सहभागिताको सुनिश्चितता तीनवटै तहका सरकारले गर्न सके भने युवाहरूको पक्षमा राष्ट्र उभिएको ठहर्ने छ । यसले युवाहरूको अधिकारहरूको सुनिश्चितता र रोजगारीको अवस्थाको मात्रै वृद्धि गर्ने छैन, राष्ट्र निर्माणमा युवाहरूको आवश्यता र कर्तव्यलाई समेत दर्शाउने छ । यसका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले समन्वयकारी रुपमा युवामैत्री कार्यक्रम कार्यान्वयन गर्नु जरुरी छ ।

(लेखक युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष हुनुहन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार