free website hit counter

नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ?

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । यति समूहलाई सरकारी सम्पत्ति जिम्मा लगाएपछि विवादमा परेको नेपाल ट्रष्टअन्तर्गत रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक भएको छ । पत्रकार सम्मेलन मार्फत ट्रष्ट संचालक समितिका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेका हुन् । ट्रष्टले सार्वजनिक गरिएको विवरण अनुसार १२ जिल्लामा नेपाल ट्रष्टको नाममा २१ हजार ५६२ रोपनी ४३ आना २ पैसा १ दाम जग्गा रहेको छ । नेपाल ट्रष्टको जग्गा मध्ये अहिलेसम्म १७४ रोपनी जग्गा मात्र गुमेको र उक्त जग्गा फिर्ता ल्याउनका लागि काम भइरहेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले जानकारी गराए ।

त्यसमध्ये सबैभन्दा धेरै १५ हजार रोपनी जग्गा धादिङमा रहेको विवरणमा उल्लेख छ । त्यस्तै काठमाडौंमा ४ हजार ४ सय ४२ रोपनी, चितवनमा ७६७ रोपनी, सुर्खेतमा ४ सय ५७ रोपनी, नुवाकोटमा २ सय ४० रोपनी, धनकुट्टामा १ सय ९४ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी सिन्धुपाल्चोकमा २७ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा ९ रोपनी, ललितपुरमा ८ रोपनी जग्गा ट्रष्टको नाममा जग्गा रहेको उल्लेख छ । ट्रष्टसँग हाल दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनीमा रहेको जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएको छ । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका कम्पनीहरु छन् ।

सम्बन्धित समाचार