काठमाण्डौ । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिइरहेको बेला विभिन्न देशले उडान समेत स्थगित गरेर संक्रमण दर घटाउने तयारी गरिरहेका बेला
नेपाल वायुसेवा निगमले कतारको दोहाको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । निगमले चीनको वुहानबाट तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै दोहाको सम्पूर्ण उडान अस्थायी रुपमा स्थगित गरेको हो । दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित हुने भएको छ । कतारले कोरोनाको जोखिम न्यूनीकरण गर्न नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि उडान स्थागित गरिएको हो । २०७६ फागुन २६ गते र त्यसपछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । निगमले टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।