free website hit counter

बीमाको काम नै जोखिम बहन गर्नु हो : अर्थमन्त्री

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिइरहेको बेला बीमा नहुने हो कि भनेर नडराउन अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । जोखिम बहनकै लागि लागि बीमा गर्नु पर्ने हो भन्दै अर्थमन्त्री खतिवडाले सबै बीमा कम्पनीहरुले जोखिम बहन गर्ने बताएका छन् । प्रतिनिधि सभाको अर्थसमितिमा भएको बीमा विधयेकमाथिको छलफलमा सांसदहरुले कोरोना भाइरसका कारण बीमा कम्पनीले बीमा गर्न छाडेको भन्दै गुनासो गरेपछि अर्थमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सबै बीमा कम्पनीहरु जोखिम बहन गर्न तयार रहेको भन्दै अहिले सबैको बीमा हुने बताए । ‘भोलिका दिनमा कोरोना आउला भनेर बीमा नै नगर्ने भन्ने कुरा हुँदैन, कोरोना लागिसकेको व्यक्तिको जोखिम बहन गर्दिन भन्ने कुरा अलग हो तर अहिले नै बीमा हुँदैन भन्ने हुँदैन, सबैको बीमा हुन्छ ।’ अर्थमन्त्री डा. खतिवडाले दाबी गरेका छन् ।
बैठकमा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले ‘बीमा ऐन २०४९’ कार्यान्वयनमा रहेको र पछिल्लो समय अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा नयाँ सिद्धान्तहरु आइसकेकाले नेपालमा पनि नयाँ कानून र व्यवस्थाको आवश्यकता रहेको बताए । उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापन सम्बन्धी सिद्धान्तको कार्यान्वयन ‘बीमा ऐन २०४९’ ले गर्न नसक्ने भन्दै नयाँ विधेयक आवश्यक रहेको समेत बताए ।
अध्यक्ष चापागाईले समितिमा स्वास्थ्य बीमालाई समेत कसरी नियमन गर्न सकिन्छ भन्ने विषमा छलफल भइराखेको जानकारी दिए । त्यस्तै विधेयकले बीमा संस्थान सम्बन्धी ऐन खारेज गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई समेत नियमन गर्ने छ । बीमा समिति खारेज भएपछि बन्ने प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारको रुपमा काम गर्ने छ । त्यस्तै राष्ट्रिय बीमा नीति तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, बीमा कम्पनीहरुको स्थापना गर्न स्वीकृति दिने, नवीकरण तथा खारेजी गर्ने, नियमन तथा सुपरिवेक्षण गर्ने लगायतका कामहरु गर्ने छ ।

सम्बन्धित समाचार