free website hit counter

पाँचौं संक्रमित युवतीको उपचार धौलागिरि अस्पतालमा

beemaadmin
२०७६ चैत्र १६, आईतवार

काठमाडौं । कोरोना संक्रमणको पुष्टि भएकी पाँचौं व्यक्ति बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ । युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । ‘संक्रमित किशोरीको अवस्था सामान्य रहेको र आत्तिनु पर्ने अवस्था नरहेको डा पोखरेलले बताएका छन् । परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेको र त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्ने डा. पोखरेलले बताएका छन् ।
यही चैत १२ गते बागलुङ नगरपालिकाको विशेष पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर नमुना संकलन गरेको थियो । ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन् । नमूना संकलन गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बेल्जियममा आमा रहेकाले दुई महिना घुमेर उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौँकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको चैत १० गते पुष्टि भएको थियो । त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरीसहित अन्य तीन जनाको समेत खोजी भएको थियो ।

सम्बन्धित समाचार