एजेन्सी । विश्वव्यापी आतंक सिर्जना गरेको कोरोनाले एक लाख बढी मानिसको ज्यान लिइसकेको छ । बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणकै कारण मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् । हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको निधनको समाचारलाई पुष्टि गरेको छ । लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् । उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।