एजेन्सी । कोरोना विरुद्धको वैज्ञानिकहरुको प्रयास सफल भइनसक्दा मान्छेको ज्यान जाने क्रम बढ्दो अवस्थामा छन् । हालसम्म विश्वभर १ लाख १९ हजार ११३ जनाले कोरोना भाइरसँग हार स्वीकार गर्न बाध्य भएका छन् । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट पहिलो मृत्यु भएको छ । गभर्नर मार्क गार्डनले त्यसको पुष्टि गरेका छन् । अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ ।
यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको केन्द्र अमेरिकाको न्यूयोर्क हो । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ । न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
यद्यपि पछिल्लो प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले स्थिति स्थिर रहेको बताएका छन् । मानिसहरुले सरकारको नीति तथा निर्देशनलाई पालना गरेकाले यस्तो अवस्था आएको उनको भनाइ छ । विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकालाई समेत कोरोनाले हायलकायल पारेको छ । यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन ।