काठमाडौं । सरकारका हर प्रयासका बाबजुद कोरोना संक्रमित भेटिने क्रम बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको विकल्प अहिलेसम्म निस्केको छैन । नेपालमा लगातार तीन सातादेखि लगाउँदै आएको लकडाउनको अवधि भोलि सकिँदैन । लकडाउन लम्बिने कुराको संकेत यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रमुखहरुसँग गरिसकेका छन् । कोरोना भाइरस रोकथामको भावी योजना लकडाउनका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने बताइएको छ । पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । भारतमा लकडाउनको समय थप्ने तयारी भइरहेको छ । कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउनलगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा हुने बताइएको छ ।