free website hit counter

तीन सयमै हुन्छ कोरोनाको बीमा

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

काठमाडौं । जोखिमको बहन नै बीमा व्यवसायको धर्म हो । जहाँ जोखिम हुन्छ त्यहाँ बीमा आवश्यक हुन्छ । अहिले विश्वभर कोरोना भाइरसको सन्त्रास बढेसँगै भित्रराष्ट्र भारत लगायत विभिन्न मुलुकमा कोरोना संक्रमणविरुद्ध बीमालेखहरु जारी भइरहेका छन् । नेपालमा पनि नियामक निकाय बीमा समितिको सक्रियतामा कोरोना रोगबाट रक्षावरण हुने गरी कोभिड–१९ बीमा लेख जारी भएको छ । बीमा समितिले सस्तो बीमा शुल्क लिएर देशभरका नेपालीको कोरोना भाइरसको जोखिम बहन गर्ने गरी बीमा गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तो बीमा लेखको विशेषताहरु घातक रोग सरहको बनाउन पनि समितिले निर्देशन दिएको हो । समितिले ५० हजार रुपैयाँ बीमाङ्कको बीमा लेखको बीमा शुल्क ३ सय तोकेको छ भने एक जनाको मात्रै बीमा लेख जारी गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ बीमा शुल्क लिन र परिवारका सबै सदस्यको समेत बीमा समावेश गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । १ लाख रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी जारी गर्दा एक व्यक्तिको बीमा शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ मात्रै निधौरण गरिएको छ । यस्तो बीमा गरेको १५ दिन प्रतिरक्षा अवधि हुनेछ । यसको अर्थ बीमा गरेको १५ दिन अगाबै बीमितलाई कोरोना लागेमा बीमा दावी लाग्नैछैन ।


१५ दिनपछि कोराना भाइरस पुष्टि भएमा बीमितलाई बीमकले दावी भुक्तानी दिनुपर्नेछ । कोरोना भाइरस बीमा लघु बीमा पुलले गर्नेछ । तर बीमा पोलिसी जारी गर्ने जिम्मा भने कृषि बाली तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरूले गर्ने व्यवस्था मिलाइएको छ । अहिलेसम्म १६ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भइसकेको, अझ धेरै संक्रमणको जोखिम रहेकोले विशेषत ग्रामिण क्षेत्रसम्म न्युन आय भएको मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न यस्तो बीमा गर्नु परेको बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार