रामेछाप । कोरोनाको संक्रमणबाट बच्न तीनै तहका सरकार सक्रियतापूर्वक लागेका छन् । जिल्ला जिल्लामा समेत कडा रुपमा कोरोना विरुद्ध अभियान चलाइरहेको बेला रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउनेसमेत निर्णय भएको छ ।
बैठकमा प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले भारतसँग सिमाना जोडिएका जिल्लाका मानिसहरु तथा अन्य सामग्रीसमेत जिल्ला प्रवेशमा बन्देज गर्नुपर्ने बताए । बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमण फैलियो भने धान्नै नसकिने भन्दै लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने बताए ।
जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी रहेको बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरुले स्थानीय प्रशासनले अझ समन्वयकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।