काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणले गति लिन थालेको छ । लकडाउन खुकुलो बनाउँदै लैजाने सोचाई अघि बढाइएकै बेला सिंगो मुलुकलाई आतंकित पार्ने गरी संक्रमितको संख्या बढेको हो । नेपालमै पहिलो पटक एक नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कलिपलवस्तु नगरपालिकाका हुन् । हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो । प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए । योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो। प्रदेश ५ मा आज भेटिएका अधिकांश कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।
२ पत्रकार पनि संक्रमित
प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोना भाइरस संक्रमित थपिए । संक्रमितमा दुई जना पर्साका पत्रकार रहेका छन् । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला आज एकै पटक ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पर्साका ३९ र बाराका १ जना रहेका छन् ।