free website hit counter

कोरोनाले उग्र रुप लिन थालेपछि लकडाउन अझै कडाई

beemaadmin
२०७७ बैशाख ३०, मंगलवार

काठमाडौं । लकडाउन खुकुलो पार्दै लाने नीति सरकारले लिएकै बेला एकाएक संक्रमितको संख्या बढ्दै गएपछि मुलुकमा लगाइएको लकडाउन अझै कडाई हुने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास समेत रद्द गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताइएको छ । उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने बताइएको छ । उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

बारामा कर्फ्यु आदेश
कोरोना संक्रमितको संख्या अत्यधिक रुपमा बढेपछि मध्य तराईको बारामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार