काठमाडौँ । सबै क्षेत्रका कोरोना भाइरसले सञ्जाल विस्तार गरेको छ । मंगलबार कोरोना भाइरस संक्रमित पुष्टि भएका भक्तपुर निवासी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरेको एसपी सबिन प्रधानले बताए ।