काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा छन् । आफ्नो बचाउका लागि दिएको अभिव्यक्ति नै उनका लागि घाँडो भएको छ । पार्टीको जारी स्थायी समितिमा समेत प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना मात्रै भएको छैन राजीनामा नै मागिएको छ । यही बेला प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि आज ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई छलफलमा डाकेका हुन् । प्रधानमन्त्री ओलीले साढे २ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन् । ओलीलाई स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै शीर्ष नेताहरुले राजीनामा माग गरेका थिए ।