काठमाडौं । कोरोना संक्रमित व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापनको कार्यविधि बनाइए पनि त्यो कार्यविधिअनुसार शव व्यवस्थापनमा स्थानीयवासीको विरोध भइरहेको छ । संक्रमित व्यक्तिको शव जतिसक्दो छिटो व्यवस्थापन टोलीले अन्तिम संस्कार गर्नुपर्ने भनिएको थियो । तर अहिले आएर परिवारकै सदस्यले समेत अन्तिम संस्कार गर्न सक्ने बताइएको छ । शव व्यवस्थापनमा विरोधको क्रम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवरोध नगर्न आग्रह गरेको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने भन्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आफ्नै रितिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताएका छन्। कोरोना संक्रमितको शव जमिनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ, कोरोना संक्रमितबारे जानकारी दिने नियमित प्रेस बिफ्रिङमा शनिबार डाक्टर गौतमले भने, मृत्यु भइसकेकोले श्वासप्रश्वासलगायत क्रियाकलाप गर्दैन। खोक्ने, हाछ्यु गर्ने र थुकका छिटाबाट कोरोना सर्ने हो जुन कार्य मृत्यु भइसकेकोले गर्दैन। उनले शवबाट कोरोना संक्रमण नहुने पनि बताए। तर शव व्यवस्थापन गर्दा भने सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। गोरखामा कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव व्यवस्थापनमा शनिबार स्थानीय बासिन्दाले विरोध गरेका थिए।