काठमाडौं । लकडाउन खुकुलो बनाउँदै राजधानी काठमाडौंको चहलपहल बढेसँगै राजधानी काठमाठौं कोरोनाको हटस्पट बन्ने संकेत देखा पर्न थालेको छ । दिनदिनै संक्रमितको संख्या थपिने क्रममा आज उपत्यकामा ५४ जना संक्रमित थपिएका हुन् । उपत्यकाका ३ जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २३ जना ललितपुरका २० जनामा कोरोना भाइरसस संक्रमण देखिएको हो । त्यस्तै, टिचिङमा गरिएको परीक्षणमा पनि काठमाडौंका १ जनामा कोरोना देखिएको छ । मन्त्रालयले थपिएका संक्रमित कुन स्थानका हुन् भन्ने खुलाएको छैन ।
सोमबार देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणका क्रममा १८० जनामा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरसस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । २५ वटा प्रयोगशालामा ४ हजार ७२१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने ९ हजार ११८ जना आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टाको अवधिमा २६४ जनाले कोरोना भाइरससलाई जितेका छन् । अहिलेसम्म ६ हजार ८११ जनाले कोरोनालाई जितेको उनले बताए ।