अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले आफ्नो राजधानी इस्लामावाद र नजिकैको ग्यारिसन सहर रावलपिंडीमा उच्च सतर्कता अपनाएको छ।
प्रहरी स्रोतका अनुसार दुवै सहरमा करिब २० हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन्। यसमा सयौं विशेष कमाण्डो र स्नाइपरहरू समेत समावेश छन्, जसलाई संवेदनशील क्षेत्रहरूमा खटाइएको छ। साथै, पञ्जाब हाइवे पेट्रोल, डल्फिन फोर्स र क्विक रेस्पोन्स युनिटका टोलीहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ।
‘सेफ सिटी’ क्यामेरा प्रणालीमार्फत निरन्तर निगरानी भइरहेको छ भने भवनका छतहरूबाट स्नाइपरहरूले २४सै घण्टा सुरक्षा अवलोकन गरिरहेका छन्। मध्यपूर्वमा बढ्दो तनाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यो दोस्रो चरणको वार्ता हो। यसअघि भएको पहिलो चरणमा पनि यस्तै कडा सुरक्षा व्यवस्था गरिएको थियो।
सुरक्षा अधिकारीहरूका अनुसार समन्वयका लागि अमेरिकाबाट विशेष सुरक्षाकर्मी सहितको अग्रिम टोली पाकिस्तान आइपुगेको छ। सुरक्षा योजनाअन्तर्गत इस्लामावाद र रावलपिंडीमा सार्वजनिक तथा मालवाहक सवारी साधनको आवागमन अस्थायी रूपमा स्थगित गरिएको छ। ‘रेड जोन’ भनिने अति संवेदनशील क्षेत्रका अधिकांश प्रवेशद्वारहरू बन्द गरिएका छन्।
यसैबीच, सरकारले सुरक्षालाई ध्यानमा राख्दै प्रमुख होटलहरूका कोठाहरू नियन्त्रणमा लिएको छ। सेरेना होटल र मेरियट होटलजस्ता ठूला होटलहरूमा बसिरहेका पाहुनालाई कोठा खाली गर्न भनिएको छ। साथै, राजधानीका होस्टेल र गेस्टहाउसहरूलाई अर्को सूचना नभएसम्म बन्द गर्न निर्देशन दिइएको छ।