एजेन्सी। चीनको पक्ष लिएको भन्दै संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग रकम रोक्का गर्ने निर्णय गरेकै बेला चीनले थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिका डब्लुएचओको मुख्य लगानीकर्ता मानिन्थ्यो । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ । यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो । चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन् । यसले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई पक्षपात गरेको आरोप लागाएका थिए । उनका अनुसार वार्षिक रुपमा अमेरिकामा कर तिर्ने मानिसहरुले डब्ल्यूएचओलाई ४० देखि ५० करोड डलर दिँदै आएका छन् । चीनले भने केवल चार करोड डलर मात्र सहयोग गर्दै आएको छ । ट्रम्पले डब्ल्यूएचओले समयमा नै सूचित गरेको खण्डमा धेरै मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने बताएका थिए । अहिले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो । तर, चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गरिरहेको छ । साथै उसले महामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको पनि बताउँदै आएको छ ।