free website hit counter

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

beemaadmin
२०८३ असार ८, सोमबार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी असार १६ गतेदेखि ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रतिऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको बिक्री छिटोमा असार १९ गते र ढिलोमा असार ३० गते बन्द हुने बैंकले जनाएको छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङका क्रममा केयर रेटिङ्स नेपालले बैंकलाई केयरएनपी सिंगल ए माइनस (CARE-NP A-) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च रहेको संकेत गर्दछ।

बैंकले ऋणपत्रबाट प्राप्त हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गर्ने जनाएको छ।

सम्बन्धित समाचार