काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भएको छ। मौसमविद्हरूले आगामी बिहीबारदेखि सोमबारसम्म देशका पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसमविद् विनोद पोखरेलले मौसम पूर्वानुमानका विभिन्न मोडलहरूको अध्ययनपछि पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेका हुन्।
उनका अनुसार शुक्रबार र शनिबार (असोज ९ र १० गते) वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ।
‘शुक्रबार र शनिबार चाहिँ अलि धेरै नै जोखिम देखिन्छ,’ पोखरेलले भने।
पोखरेलका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकास भइरहेको छ। उक्त प्रणाली नेपालसम्म आइपुग्दा भारी वर्षा हुनसक्ने सम्भावना विभिन्न मौसम पूर्वानुमान मोडलहरूले देखाएका छन्।
अमेरिकी मौसम मोडलले बिहीबारदेखि सोमबारसम्म लामो समय वर्षा हुनसक्ने देखाएको छ। युरोपेली मोडलले भने पश्चिम नेपालमा भारी वर्षाको सम्भावना बढी रहेको संकेत गरेको उनले बताए।
उनका अनुसार बागमती र मधेशबाट सुरु भएर पश्चिम नेपालतर्फ वर्षाको प्रभाव बढ्न सक्ने देखिएको छ। विभिन्न मोडलहरूले चारदेखि पाँच दिनको अवधिमा कतिपय क्षेत्रमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेको पनि उनले जानकारी दिए।
यद्यपि, उक्त वर्षा एकै दिनमा नभई चार–पाँच दिनको अवधिमा हुनसक्ने उनको भनाइ छ।
मौसमविद् पोखरेलका अनुसार विभिन्न तीनवटा मौसम मोडलले लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखाएका छन्।
तर, कुन स्थानमा कति वर्षा हुन्छ भन्ने कुरा अहिले नै यकिन गर्न नसकिने उनले बताए। मौसम प्रणालीमा सामान्य परिवर्तन आउँदा पनि वर्षाको मात्रा र प्रभावित क्षेत्र फरक पर्न सक्ने उनको भनाइ छ।
‘यही ठाउँमा पानी पर्छ भन्न सकिँदैन। त्यो बेला थोरै मात्र परिवर्तन हुँदा पनि वर्षाको मात्रा घटबढ हुन सक्छ। सचेत हुन जरूरी छ,’ उनले भने।
पोखरेलले उक्त प्रणाली चक्रवातमा विकसित हुने सम्भावना भने न्यून रहेको बताएका छन्।
मनसुनको उत्तरार्द्धमा भारी वर्षा हुँदा बाढीपहिरोको जोखिम बढ्न सक्ने मौसमविद् पोखरेलले बताएका छन्।
पहिल्यै भिजेको जमिनमा लामो समयसम्म वर्षा हुँदा पहिरो तथा बाढीको सम्भावना बढ्ने उनको भनाइ छ। त्यस्तै, मौसम प्रणाली सुस्त गतिमा अघि बढेमा लगातार वर्षा हुनसक्ने र त्यसले जोखिम थप बढाउन सक्ने उनले बताए।
उनले किसानलाई बाली जोगाउने पूर्वतयारी गर्न तथा सरकारले जोखिमयुक्त क्षेत्र पहिचान गरी सवारीसाधन सञ्चालन र नागरिक सुरक्षासम्बन्धी आवश्यक तयारी गर्न सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडी र अण्डमान आसपास विकास भइरहेको प्रणाली क्रमशः उत्तर–पश्चिमतर्फ सर्दै जाँदा त्यसको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो।
हाल मौसम प्रणाली विकासकै क्रममा रहेकाले यसको प्रभाव कुन क्षेत्रमा कति पर्छ भन्ने विषयमा निरन्तर अनुगमन भइरहेको उनले बताए।
‘सात दिनसम्मको पूर्वानुमान हेर्दा यसको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना देखिन्छ। तर कति पर्छ, के पर्छ र कसरी विकास हुँदै आउँछ भन्ने विषयमा हामी निरन्तर अनुगमन गरिरहेका छौँ,’ लामिछानेले भने।
उनका अनुसार बंगालको खाडीमा विकास भइरहेको प्रणाली चक्रवातका रूपमा विकसित हुनसक्ने अनुमानसमेत गरिएको छ। उक्त प्रणाली ओडिसा र आसपासका क्षेत्रमा पुगेमा यसको प्रभाव क्षेत्र विस्तार हुनसक्ने र बाहिरी प्रभाव नेपालसम्म आइपुग्न सक्ने उनले बताए।
यद्यपि, नेपालमा कति वर्षा हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने लामिछानेको भनाइ छ। दिन नजिकिँदै जाँदा थप स्पष्ट पूर्वानुमान सार्वजनिक गर्दै जाने महाशाखाले जनाएको छ।