काठमाडौ । कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको छ । दिनदिनै चार पाँच सय संक्रमित थपिएका छन् भने निको भएर फर्किनेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५३५ नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ । सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ संक्रमित थपिएको बताए । यससँगै नेपालमा कूल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० ले कोरोनालाई जितेर डिस्चार्ज भएको बताएका छन् ।
यससँगै नेपालमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या २ हजार १ सय ४२ पुगेको छ । डाक्टर गौतमले राजविराजमा गरिएको परीक्षणमा मोरङ र सप्तरीका १० जना, विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ र मोरङका ४ जनामा संक्रमण भेटिएको बताए । त्यस्तै कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा संक्रमण देखिएको छ । डाक्टर गौतमले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछाम २, अर्घाखाची ९, बैतडी १४, डडेलधुरा १५, डोटी ७, गुल्मी १, जाजरकोट १, कैलाली ५८ नवलपरासी ५, सर्लाही ५७, सिन्धुपाल्चोक २, सिराहा २३, स्याङ्जा २०, पाल्पा १०, प्युठान २४, रौतहट ३४ रुपन्देहीका ९ जनामा संक्रमण देखिएको छ ।
उनले भरतपुरमा गरिएको परीक्षणमा चितवनका ५ र नवलपरासी पूर्वका १६ जनामा संक्रमण देखिएको बताए । त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा ओखलढुंगाका १ र गुल्मीका ४१ जनामा संक्रमण देखिएको छ भने पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १३, तनहुँका ११ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण देखिएको छ ।
रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १४, पाल्पाका ८०, रुपन्देहीका ३ र प्युठानका ६ मा संक्रमण देखिएको हो । राप्तिमा गरिएको परीक्षणमा दाङका १३ जनामा संक्रमण देखिएको डाक्टर गौतमले जानकारी दिएका छन् । उनले हालसम्म ७६ वटै जिल्लामा कोरोना संक्रमित भेटिएको र पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरेकोसमेत बताएका छन् ।