काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट (बीमा प्रतिष्ठान) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशीलदेव सुवेदीलाई लगिने भएको छ । नेपाल बीमा प्राधिकरणका निर्देशक समेत रहेका सुवेदी तत्कालिन बीमा समितिमा २०६३ साल वैशाखमा प्रवेश गरेका हुन्। स्नातकोत्तर तहका विद्यार्थीलाई बीमा विषय पढाउँदै आएका सुवेदीले अब प्रतिष्ठानले दिने शिक्षा र तालिमलाई नै बलियो बनाउने भएका छन् । उनी साउन १ देखि प्रतिष्ठान सम्हालन जान लागेका हुन् । प्राधिकरणमा अबको कार्यकारी निर्देशक हुने पहिलो नम्बरमा रहेको सुवेदीले बीमा क्षेत्रमा योग्य जनशक्ति विकास गर्न प्रतिष्ठानमा जान लागेका हुन् । हाल प्रतिष्ठानको सीईओमा बीमाविज्ञ भोजराज शर्मा छन् । प्रतिष्ठानका हालका सीईओ भोजराज शर्मा उमेर हदका कारण अवकाश हुँदैछन् । नियमानुसार ७५ वर्षभन्दा माथि प्रतिष्ठानको सीईओ बन्न मिल्दैन् । हालका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्को बर्ष बैशाखमा अवकाश पाउँदैछन् । पौडेलको अवकाशपछि सुवेदी प्राधिकरणमै फर्किएर कार्यकारी निर्देशक हुनसक्ने संभावना रहेको छ ।