free website hit counter

उपत्यकामा सबै खुल्यो, निषेधाज्ञा मात्रै बाँकी, के चाहिँ गर्न पाइँदैन ?

beemaadmin
२०७८ असार २२, मंगलवार

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएको बन्दाबन्दी खुकुलो हुँदै गएको छ । संक्रमण घटे पनि संक्रमितको प्रतिशत घटेको छैन भने ज्यान गुमाउनेको संख्या पनि ३० भन्दा माथि नै रहेको छ । यही बेला थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आजदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। उपत्यकामा यातायातमा लागू गरिएको जोर(बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। सबै व्यापार व्यवसाय खुला भए पनि निषेधाज्ञा भने जारी नै छ । सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन। यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ। स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ। उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले सबै प्रकारका व्यवसाय खुला गरिने निर्णय गरेका थिए। बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाएको छ। खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमासमेत रोक लगाइएको छ। आदेश अवधिभर स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ। अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ। त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी चेतावनी दिइएको छ। अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ।
घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ। अनिवार्यरुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ। काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताअनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ। नलगाएमा सवारीसाधनमा प्रवेश रोक लगाउन भनिएको छ। चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ। सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ। सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ। सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेस्रो सिटमा चाररचार जना र चालकको छेउमा एक गरी नौजना मात्रै यात्रु राख्न भनिएको छ। गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ। निजी सवारीको हकमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ। अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई प्रवेश गर्न पाउने छन्। सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ।
पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ। त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ। गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्ने भनिएको छ। उपत्यका प्रशासनले नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी यही असार ३१ गते राति १२ बजेसम्मका लागि उक्त आदेश जारी गरिएको जनाएको छ।

सम्बन्धित समाचार