काठमाडौं । अर्थतन्त्र विस्तारै जयमा फर्किने क्रममा छ । आर्थिक क्षेत्र चलायमान हुने आशा पलाएका बेला बैक तथा वित्तीय क्षेत्रको अवस्था भने सकारात्मक नै रहेको छ । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले गएको साउन महिनामा मात्रै सवा ४ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामै नेपालमा संचालित १४ निर्जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २ लाख २१ हजार ७१ वटा र लघु निर्जीवन बीमा लेख गरी २० हजार २४३ वटा गरी कुल २ लाख ४१ हजार ३ सय १४ वटा बीमालेख जारी गरेर उक्त शुल्क संकलन गरेका हुन। बीमा प्राधिकरणका अनुसार साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको देखिएको छ । तथ्यांक अनुसार उक्त कम्पनीले साउनमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरी धेरै बीमाशुल्क संकलन गर्ने दोस्रो कम्पनी बनेको छ । त्यस्तै साउनमा शिखर इन्स्योरेन्सले ३६ करोड ८८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख, आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख र ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यसैगरी नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख र एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणले दिएको जानकारी अनुसार साउनमा नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
लघु बीमा कम्पनीतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ३८ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ३६ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख रुपैयाँ गरी कुल ४ वटा माइक्रो इन्स्योरेन्सले ५ करोड १६ लाख ११ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । लघु बीमा कम्पनीहरुले १ महिनामा २० हजार २ सय ४३ वटा बीमा लेख जारी गरेका छन् । यस अवधिमा जारी भएका बीमालेखहरुको कुल बीमांक रकम भने १५ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको छ ।