काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणकाअनुसार गत आर्थिक बर्ष २०८१–८२ मा जीवन बीमा कम्पनीहरुको लगानी ११ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । २०८१ असार मसान्त उनीहरुले बिभिन्न क्षेत्रमा ६ खर्ब ८२ अर्ब २५ करोड ६३ लाख रुपियाँ लगानी गरेका थिए । २०८२ असार मसान्तसम्म आउँदा त्यो ७५ अर्ब १० करोड ३८ लाख रुपियाँ थप भएर सात खर्ब ५७ अर्ब ३६ करोड दुई लाख रुपियाँ पुगेको छ । यद्यपि, कुल लगानीमा ७८.६९ प्रतिशत लगानी बैंकहरुको निक्षेपमा रहेको छ । जीवन बीमा कम्पनीहरुले वाणिज्य र पुर्वाधार विकास बैंकमा न्यूनतम ३० प्रतिशत, विकास बैंकमा न्यूनतम १० प्रतिशत र वित्त कम्पनीमा न्यूनतम पाँच प्रतिशतको अनुपातमा निक्षेप लगानी गर्नैपर्छ । अर्थात् न्यूनतम ४५ प्रतिशत लगानी निक्षेपमा राख्नुपर्छ । तर, बीमा कम्पनीहरुले त्यो भन्दा धेरै अनुपातमा निक्षेपमा लगानी गरेका छन् । बीमा कम्पनी आफै जोखिमको रक्षावरणको व्यवसाय गर्ने कम्पनी हो । नियमीत रुपमा दावी भुक्तानी दिनुपर्छ । साथै, कहिले काँही ठूलो संख्या र रकममा दावी पनि दिनुपर्ने हुन्छ । त्यो बेला तरलता व्यवस्थापन गर्नका लागि सहज बनाउने हिसावले लगानी गर्नुपर्छ । त्यो अवस्थामा बीमा कम्पनीहरुलाई बैंक निक्षेपमै धेरै लगानी राख्नु उपयुक्त हुन्छ । यद्यपि, व्याजदरमा भएको अस्थिरताका कारण बैकल्पीक क्षेत्रमा पनि जानुपर्ने दवाव छ । बीमा कम्पनीहरुले वाणिज्य बैंकमा पाँच खर्ब ३२ अर्ब ४९ करोड १० लाख रुपियाँ, पुर्वाधार विकास बैंकमा सात अर्ब १७ करोड रुपियाँ, विकास बैंकमा ४८ अर्ब ७० करोड २८ लाख रुपियाँ र वित्त कम्पनीमा सात अर्ब ४६ करोड ८५ लाख रुपियाँ निक्षेप राखेका छन् । यसरी निक्षेपमा मात्रै कुल पाँच खर्ब ९६ अर्ब एक करोड २३ लाख रुपियाँ लगानी भएको छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत नै लगानीको प्रतिफल हो । धेरै लगानी मुद्दती निक्षेपमा भएको अवस्थामा बीमा कम्पनीहरुका लागि व्याज आम्दानी नै मुख्य स्रोत हो । त्यो अवस्थामा बैंकको व्याजदर धेरै हुदाँ बीमा कम्पनीहरुले धेरै आम्दानी गर्न सक्छन् । व्याजदर कम हुदाँ बीमा कम्पनीहरुको आम्दानी पनि घट्नेछ । ब्याजदर घटेकै कारण गत आवमा जीवन बीमा कम्पनीको नाफा १६ प्रतिशतले घटेको छ । अघिल्लो आव २०८०–८१ मा १४ कम्पनीको खुद नाफा सात अर्ब १७ करोड ३५ लाख रुपियाँ थियो । गत आवमा भने उनीहरुको नाफा घटेर ६ अर्ब दुई करोड ४८ लाख रुपियाँमा सीमित भएको छ । ब्याजदर घटेर आम्दानी प्रभावित भएपछि नाफा घटेको कम्पनीहरु बताउँछन् । कर्जाको माग न्यून भएपछि बैंकहरुले निरन्तर व्याजदर घटाउँदै आएका छन् । त्यसको असर व्याज आम्दानीमा निर्भर हुने कम्पनी तथा सस्थालाई परेको छ । अहिले पनि बैंकहरुको व्याजदर न्यून छ । त्यो अवस्थामा यतिका धेरै लगानी निक्षेपमै हुँदा कम्पनीहरु आम्दानी प्रभावित हुने भनेर चिन्तीत पनि छन् ।
कहाँ कहाँ छ लगानी ?
जीवन बीमा कम्पनीहरुले सरकारी बचत तथा ऋण पत्रमा दुई अर्ब ८० करोड ३९ लाख रुपियाँ, घरजग्गामा ७५ करोड ८१ लाख रुपियाँ, सुचीकृत कम्पनीको साधारण सेयरमा ३० अर्ब ५२ करोड २८ लाख रुपियाँ, बैंकको अग्राधिकार सेयर, बन्ड, डिवेञ्चर र ऋणपत्रमा ५९ अर्ब ३८ करोड ७९ लाख रुपियाँ र सुचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा १९ अर्ब ३४ करोड ७३ लाख रुपियाँ लगानी भएको छ । यस्तै, कृषि, जलविद्युत् जस्ता पुर्वाधारमा ११ अर्ब ३७ करोड ७३ लाख रुपियाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा दुई अर्ब ७३ करोड ७० लाख रुपियाँ, नागरिक लगानी कोष र म्यूचल फण्डमा चार अर्ब ४६ करोड ३१ लाख रुपियाँ, अन्य संस्थापक सेयरमा १५ अर्ब ४५ करोड ४४ लाख रुपियाँ, सुचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा एक अर्ब ६५ करोड तीन लाख रुपिययाँ र अन्य लगानी १२ अर्ब ८४ करोड ५२ लाख रुपियाँ रहेको छ ।