काठमाडौैं । १३ वर्ष अघिको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले एभरेष्ट पेपर मिल्सलाई बीमा बापतको रकम भुक्तान गर्न युनाइटेड इन्स्योरेन्सलाई निर्देशन दिएको छ ।
धनुषाको महेन्द्रनगरमा रहेको एभरेष्ट पेपर मिल्सलाई तिर्नुपर्ने बीमा रकम भुक्तानी गर्न सर्वोच्चले आदेश दिएको छ । युनाइटेड इन्सुरेन्सले बीमा वापतको करिब ५ करोड रुपैयाँ तिर्नुपर्ने भएको हाे । एभरेष्ट पेपर मिल्सले आफ्नो फ्याक्ट्री तथा उत्पादनको बीमा युनाइटेड इन्सुरेन्सबाट गराएको थियो । लगातार ८ वर्षसम्म प्रिमियम तिरेको एभरेष्ट पेपर मिल्समा २०६० सालमा आगलागी भएको थियो ।
२०६० साल भदौ ७ गते एभरेष्ट पेपर मिल्सको धनुषास्थित फ्याक्ट्री, गोदामलगायत स्थानमा तत्कालिन विद्रोही माओवादीले आगो लगाएको थियो । आगलागीबाट एभरेष्ट पेपर मिल्सको करिब ११ करोड रुपैयाँको क्षति भएको थियो । तर युनाइटेड इन्सुरेन्सले आफूले बीमा गरेको भवनको मात्रै भएको भन्दै ११ करोडको क्षति भएपनि जम्मा ४ करोड ५० लाख रुपैयाँमात्रै भुक्तानी गरेको थियो । २०६० सालमा भएको आगलागीपछि विभिन्न चरणमा छलफल भएपनि बीमा कम्पनीले बीमितलाई रकम क्षति भएको रकमको कटाउने रकमबाहेक पूरै रकम भुक्तानी नगरेपछि एभरेष्ट पेपरमिल्स अदालतसम्म पुगेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशले बुधबार एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला गर्दै बीमावापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्न निर्देशन दिएको हो । १५ वर्ष अगाडिको घटना भएको र तत्कालीन समयमा उसले दिन इन्कार गरी नदिएको रकम भएकाले अब उसले पुनर्बीमा कम्पनीबाट बीमा दाबी गर्न नमिल्ने भएकाले इन्सुरेन्सले आफ्नै आम्दानीबाट उक्त रकम भराउनु पर्नेछ ।